छाला सुन्दर देखिन मात्र नभई शरीरको सुरक्षा गर्नु पनि हो । छालाले भिटामिन डी उत्पादन गर्न सहयोग गर्छ ।
शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बलियो बनाउन भूमिका खेल्छ । बाहिरी संक्रमण, घाम, धुलो र ब्याक्टेरियाबाट शरीरलाई जोगाउँछ । त्यसैले छालासम्बन्धी कुनै पनि उपचार छाला विशेषज्ञ सँगै गराउनु सबैभन्दा सुरक्षित र प्रभावकारी हुन्छ ।
जीवनशैलीदेखि जेनेटिक्ससम्म
अनुहारको छाला चाउरी पर्नुमा लाइफस्टाइल मुख्य कारण हो । यसमा धुम्रपान, रक्सी धेरै पिउने, निन्द्रा कम लिने, चिन्ता बढि गर्ने व्यक्तिहरु पर्दछन् । घाम, सनलाइट एक्सपोेजर अर्को कारण हो । यसैगरी वंशाणुगत आमा–बुबाबाट सन्तानमा सर्ने जैविक गुण वा जोखिम (जेनेटिक्स फ्याक्टर) पनि हो । यसका साथै तपाईले अनुहारको छालाको हेरचाह कसरी गर्नुभएको छ ? भन्ने कुराले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
२५ वर्षपछि किन बढ्छ छालाको एजिङ ?
२५ वर्षपछि कोलेजन र इलास्टिन घट्दै जान्छ । छाला पातलो र संवेदनशील बन्दै जान्छ ।
सही सनस्क्रिन, सुरक्षित छाला
बिहानका लागि भिटामिन ‘सी’ सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले एन्टिअक्सिडेन्ट सुरक्षा, प्राकृतिक ग्लो (चमक) ल्याउन र रिङ्कल्स (चाउरिपन) हटाउन मद्दत गर्छ । रातिका लागि रेटिनोइड्स सनस्क्रिन आवश्यक हुन्छ । यसले नयाँ कोष उत्पादन र कोलेजन बुस्टमा महत्वपूर्ण भूमिका खेल्छ ।
रेटिनोइड्सले पुराना सेल हटाएर छालाको नयाँ सेल जन्माउन मद्धत गर्छ । रेटिनोइड्स सनस्क्रिनले मांसपेशीलाई हल्का सुख्खा गर्न सक्ने भएकाले मोइस्चराइजर प्रयोग गर्न उपयुक्त हुन्छ ।
छाला अनुसार नमिल्ने प्रोडक्ट प्रयोगले जोखिम बढ्छ । यसले पैसा खर्च हुन्छ र परिणाम शून्य आउँछ । छाला बिग्रने र मानसिक तनाव सृजना हुनसक्छ ।
बोटोक्स—सही हातमा जादु, गलत हातमा जोखिम
अनुहारको चाउरिपन कम गर्न बोटक्स सुरक्षित छ । यसको मुख्य काम मांसपेशीहरूलाई अत्यधिक खुम्चिन नदिई रिल्याक्स अवस्थामा राख्नु हो । यसरी मांसपेशी रिल्याक्स हुँदा फाइन लाइन्स मात्र नभई गहिरा चाउरीहरू पनि कम हुन्छन् । अहिले ‘बेबी बोटोक्स’ जस्ता नयाँ विकल्पहरू पनि आएका छन् ।
यसमा सानो डोज प्रयोग गरेर प्राकृतिक रूपमा चाउरीपन घटाइन्छ । यसको असर कपडामा आइरन लगाएजस्तै तुरुन्तै देखिन सक्छ । बोटोक्सको असर करिब ४ देखि ६ महिनासम्म मात्र रहन्छ । त्यसपछि आवश्यकताअनुसार निश्चित युनिट (मात्रा) मा फेरि–फेरि गर्नुपर्छ । यद्यपि यो स्थायी नभए पनि सही तरिकाले गर्दा राम्रो र प्रभावकारी नतिजा दिन्छ । बोटोक्स बीचमै छोड्दा झन् समस्या त हुँदैन ?’ भनेर धेरैले प्रश्न गर्छन् ।
तर बोटोक्स प्रयोग गरेर रोक्दा कुनै नकारात्मक असर पर्दैन । बोटोक्स एकपटक लगाएपछि छाला राम्रो, स्मुथ र जवान देखिन्छ । प्रयोग गर्दै जाँदा चाउरीपन क्रमशः घट्दै जान्छ किनकि यसले मांसपेशीलाई अत्यधिक चल्न दिँदैन ।
तर बोटोक्स प्रयोग गर्दा अनुभवी चिकित्सकको सल्लाह र निगरानीमा मात्र गर्नु उपयुक्त हुन्छ । अनुभव नभएका व्यक्तिबाट गर्दा केही अस्थायी साइड इफेक्ट देखिन सक्छन् । जस्तैः साना–साना गाँठा (टुस बम्स) देखिने, पलक (आँखा बन्द–खोल्दा चल्ने छालाको तह) तल झर्ने, अपेक्षित परिणाम नआउने र उपचारको उल्टो असर देखिनसक्छ ।
केमिकल पीलः नयाँ छालाको सुरुवात्
यो पुरानो तह हटाएर नयाँ चमक ल्याउने विधि हो । अनुहारको छालाको माथिल्लो तह हटाएर नयाँ छाला बनाउन गरिने उपचारलाई केमिकल पील भनिन्छ । यसले सेल टर्नओभर टाइम र कोलेजनको मात्रा बढ्छ । साथै अनुहारमा आउने चाउरिपन हराउँदै जान्छ । त्यस बाहेक माइक्रोडर्माब्रेशन मेसिन मार्फत प्रयोग गरेर माथिल्लो तहको छाला हटाएर नयाँ छाला बनाउन सकिन्छ ।
तेस्रो चरणमा (पीआरएफ ट्रीटमेन्ट) हो । यो प्लेटलेट रिच फाइब्रिन (पीआरएफ) उपचारमा आफ्नो शरीरको रगत प्रयोग गरेर छाला र कपाललाई प्राकृतिक रूपमा पुनर्जीवन दिन्छ ।
यसले कोलेजन र सेल टर्नओभर बढाई छालालाई टाइट, स्मुथ र जवान बनाउँछ । चाउरिपन र फाइन लाइन कम गरी प्राकृतिक चमक ल्याउँछ ।
साथै कपाल झर्न कम गर्न मद्दत गर्छ । अहिले आधुनिक युगसँगै पोलिडीअक्सिराइबोन्यूक्लियोटाइड (पिडिआरएन) को मार्फत रगतबाट निकालिएको विशेष पदार्थ प्रयोग गरेर छाला वा अनुहारको चाउरीपनको उपचार गरिन्छ । यदि तपाईंले अनुभवी डाक्टरसँग अनुहारको चाउरीपनको उपचार गराउनुभएमा तेस्तो केहि नकरात्मक असर हुदैन ।
डर्मा फिलरः घटेको भोल्युमको पुनःस्थापना
यो एक प्रकारको इन्जेक्सनमार्फत छालामा हालिने पदार्थ हो । यसले उमेर बढ्दै जाँदा घटेको छालाको भोल्युम बढाउने, चाउरीपन घटाउने र अनुहारको आकार सुधार्ने काम गर्छ ।
यो चाउरीपना र रेखा कम गर्न, गाला, चिउँडो, जबडा उभ्याउन, ओठ फुलाउन, अनुहारको असन्तुलन मिलाउन, नाक, आँखामुनि खाल्डो देखिन नदिन प्रयोग गरिन्छ ।
फिलर शरीरमै पाइने पदार्थ हाइलुरोनिक एसिडबाट बनाइएको सुरक्षित मानिन्छ । यो साधारणतया ६ महिना देखि १८ महिनासम्म रहन्छ । त्यसपछि पुनः प्रयोग गर्नुपर्छ । अनुभवी डाक्टरले गरेमा सुरक्षित हुन्छ । गलत हातमा परे संक्रमण, सुन्निने, असमानता जस्ता जोखिम हुनसक्छ ।
माइक्रोडर्माब्रेशनः फाइन लाइन्स र पोर्स सुधार
माइक्रोडर्माब्रेशन विधिले छालाको माथिल्लो माइक्रोडर्मिस लेयर हटाएर कोलेजेन उत्पादनमा सहयोग गर्छ । साथै फाइन लाईन्स रिङकल्स हटाउँछ र छालामा रक्तसञ्चार बढाइदिन्छ ।
डर्माब्रेशनः एक्ने, एजिङ र पोर्स समस्यामा प्रभावकारी
खास्कीले जस्तै मेसिनको माध्यमबाट छालाको माथिपटीको भाग हटाउने विधिलाई डर्माबे्रशन भनिन्छ ।
सतही माइक्रोडर्माब्रेशनले चाउरीपन घटाउन मात्र नभई डण्डिफोर उपचारमा पनि काम गर्छ ।
पोर्स (छालाका साना प्वाल) टाइट/रिफाइन गर्न, पोर्स सफा गर्न र रक्तसञ्चार बढाएर छालामा प्राकृतिक ग्लो ल्याउन मद्दत गर्छ ।
लेजर स्किन रिसर्फेसिङः डल स्किनबाट ग्लोइङ स्किनसम्म
यसमा लेजर प्रविधि प्रयोग गरेर छालाको म्लान (डल) भएको माथिल्लो तह हटाइन्छ । यसले छालाभित्र नयाँ कोलेजन बन्न मद्दत गर्छ र फाइन लाइन्स तथा गहिरा चाउरीहरू कम÷हटाउन सहयोग गर्छ ।
एण्टीएजिङ डाइटः के खाने, के नखाने ?
दैनिक पानीको मात्रा बढाउने, बजारमा पाइने जङफुड नखाने, ताजा फलफूल र भेजिटेवल्स बढि मात्रामा खाने, सालमन माछा, म्याकरल, सार्डिन्स र फ्ल्याक्स सिड, चिया सिड, अखरोट नट्स र बीउ बढि मात्रामा खाने । धूम्रपान, मद्यपानको सेवन नगर्ने । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । दैनिक रुपमा ब्यायाम, ध्यान गर्ने बानीले रक्तसञ्चारमा सकरात्मक प्रभाव पार्नुको साथै रिङ्कल्स हटाउन समेत मद्दत गर्दछ ।
घरेलु उपचारः सावधानी आवश्यक
चाउरीपन घटाउने घरेलु उपचार गर्दा छालामा इरिटेसन उत्पन्न गर्नसक्छ । छाला सुन्निने, रातो हुने, चिलाउने समस्या हुनसक्छ । त्यसैले परीक्षण भएका क्रिमहरु प्रयोग गर्नुपर्छ ।

