नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पुनः डा. श्रीकृष्ण गिरीले पाउनुभएको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले अर्को व्यवस्था नभएसम्मका लागि डा. गिरीलाई उक्त जिम्मेवारी दिएका हुन् ।
सोमबार जिम्मेवारीको पत्र बुझेपछि डा. गिरी आयोगको कार्यालय पुगेर कामकाज सम्हाल्न थाल्नुभएको छ ।
यसअघि गत १९ वैशाखमा सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा। अञ्जनी कुमार झासहित विभिन्न पदाधिकारी पदमुक्त भएका थिए । सोहीपछि आयोगको उपाध्यक्ष पद रिक्त रहँदै आएको थियो ।
डा. गिरी आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । चिकित्सा शिक्षा आयोग स्थापना भएपछि पहिलो उपाध्यक्ष बनेका उहाँले चार वर्षे कार्यकाल पूरा गरी करिब तीन वर्षअघि जिम्मेवारीबाट बाहिरिनुभएको थियो । चिकित्सा शिक्षा नीति, नियमन र शैक्षिक सुधारका विषयमा अनुभव भएकाले सरकारको रोजाइमा उहाँ पुनः पर्नुभएको हो ।
यता सरकारले भने स्थायी उपाध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढाइसकेको छ । उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले गत ३० वैशाखमा आवेदन आह्वान गरिसकेको छ । आवेदन बुझाउने अन्तिम म्याद १३ जेठसम्म तोकिएको छ ।
अस्थायी रूपमा डा. गिरीलाई जिम्मेवारी दिइए पनि आयोगले अब स्थायी नेतृत्व पाउने प्रक्रिया तीव्र बनेको देखिएको छ । चिकित्सा शिक्षासम्बन्धी नीति निर्माण, शिक्षण संस्थाको नियमन तथा गुणस्तर सुधारका महत्वपूर्ण काम आयोगमार्फत हुने भएकाले यसको नेतृत्वलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

