नेभिगेशन
समयमै पहिचान, प्रभावकारी उपचार र गुणस्तरीय जीवनतर्फको यात्रा 

नेपाल बाथरोग संघमा नयाँ नेतृत्वः बाथरोग सेवाको विस्तारमा नयाँ प्रतिवद्धता

बाथरोगका बिरामीलाई गुणस्तरीय उपचार, चिकित्सकको क्षमता विकास र अन्तर्राष्ट्रिय सहकार्यमा जोड

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा बाथरोग सम्बन्धी उपचार, अनुसन्धान र विशेषज्ञ चिकित्सकहरूको साझा व्यावसायिक संस्था नेपाल बाथरोग संघले नयाँ नेतृत्व चयन गरेको छ । संघको छैटौं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि डा. दीपा शाहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

२०८३ साल असार १६ गते सम्पन्न साधारणसभाले बाथरोग क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अनुभवी तथा युवा विशेषज्ञहरूको संयोजनमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।


संघको उपाध्यक्षमा डा. बिनित बैद्य, महासचिवमा डा. केशवराज सिग्देल, सहसचिवमा डा. सुधिर कर्माचार्य, कोषाध्यक्षमा डा. अभिलाषा शाह तथा सहकोषाध्यक्षमा डा. साकेत झा चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा डा. दिपेश शाक्य, डा. उज्वल प्रसाद रिसाल, डा. विनयकुमार रेग्मी, डा. मनिषा भोछिभोया, डा. प्रविन खत्री, डा. श्रेया श्रेष्ठ र डा. कल्पना पुडासैनी रहनुभएको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा रुमाटोइड आर्थराइटिस, एन्काइलोजिङ स्पोन्डिलाइटिस, ल्युपस, गाउट, भास्कुलाइटिस लगायतका बाथरोगका बिरामीको संख्या बढ्दै गएको अवस्थामा बाथरोग विशेषज्ञहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ । समयमै रोग पहिचान, आधुनिक औषधि तथा बायोलोजिकल उपचारको विस्तार, अनुसन्धान र जनचेतनामार्फत बिरामीको जीवनस्तर सुधार गर्न नेपाल बाथरोग संघले निरन्तर काम गर्दै आएको छ ।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा बाथरोगसम्बन्धी विशेषज्ञ सेवा देशभर विस्तार गर्ने, चिकित्सकहरूको निरन्तर व्यावसायिक शिक्षा (सिएमई), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने, अनुसन्धानलाई प्रोत्साहन गर्ने र सर्वसाधारणमा बाथरोगबारे सही जानकारी पु¥याउने विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूका अनुसार नेपालमा अझै पनि धेरै बिरामीले बाथरोगलाई उमेरसँग सम्बन्धित सामान्य जोर्नी दुखाइ ठानेर उपचारमा ढिलाइ गर्ने प्रवृत्ति रहेको छ । यस्तो अवस्थामा नेपाल बाथरोग संघको सक्रियता र नयाँ नेतृत्वले रोगको शीघ्र पहिचान, प्रभावकारी उपचार तथा जनस्वास्थ्यमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।

नेपाल बाथरोग संघ सन् २०१९ मा स्थापना भएको थियो । हाल संघमा ६० भन्दा धेरै बाथरोगका डाक्टरहरु सदस्य रहनुभएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाथ