नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्वभर विश्व मस्तिष्क दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। मस्तिष्क तथा स्नायुसम्बन्धी रोगबारे जनचेतना अभिवृद्धि गर्ने, उपचारमा समान पहुँच सुनिश्चित गर्ने तथा यस क्षेत्रमा देखिएको सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो।
यस वर्षको विश्व मस्तिष्क दिवसको नारा ‘सबैका लागि मस्तिष्क स्वास्थ्य’ रहेको छ। विश्वभर करिब ३ अर्ब ४० करोडभन्दा बढी मानिस विभिन्न स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबाट प्रभावित रहेको तथ्यलाई मध्यनजर गर्दै यस वर्षको अभियानले उपचार सेवामा रहेको असमानता हटाई सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ।
अभियानअन्तर्गत समयमै रोग पहिचान, प्रारम्भिक उपचार, रोगको रोकथाम, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीतिगत सुधारमा विशेष जोड दिइएको छ। साथै, दुर्गम तथा स्रोतसाधनको अभाव भएका क्षेत्रमा समेत गुणस्तरीय स्नायु उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्व स्नायु विज्ञान महासङ्घका अनुसार मस्तिष्कसम्बन्धी रोग विश्वभर अशक्तताको प्रमुख कारणमध्ये एक बनेको छ। विज्ञहरूले उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको प्रभावकारी नियन्त्रण, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन सके दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
स्वास्थ्य विज्ञहरूले मस्तिष्क स्वास्थ्यलाई व्यक्तिगत मात्र नभई सार्वजनिक स्वास्थ्यको प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै जनचेतना, समयमै उपचार र सबैका लागि सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सरकार, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
बुधबार, साउन ६, २०८३
त्रिवि शिक्षण अस्पतालको दिउँसोको नियमित सेवा भोलि बन्द
बुधबार, साउन ६, २०८३
दार्चुलाबाट डा. गोविन्द केसीको घोषणा : ७ साउनदेखि फेरि अनशन सुरु गर्छु
बुधबार, साउन ६, २०८३
को बन्छ चिकित्सा शिक्षा आयोगको निर्देशक? १२ उम्मेदवार सर्टलिस्टमा
बुधबार, साउन ६, २०८३
