नेपाल हेल्थ न्युज, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा ७१ वर्षीया एक महिलाको मस्तिष्कको धमनी वरिपरिका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरिएको छ। न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब सात घण्टा लामो शल्यक्रियामार्फत ट्युमर हटाएको हो।
अस्पतालका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो थियो, जसका कारण श्वासप्रश्वासमा समस्या, बारम्बार अचेत हुने, शरीरका विभिन्न भाग झम्झमाउने तथा टाउको हल्लाउँदा चक्कर लाग्ने जस्ता लक्षण देखिन थालेका थिए। गत असार २५ गते गरिएको शल्यक्रियापछि बिरामीको अवस्था सुधारोन्मुख रहेको र डिस्चार्जपछि नियमित फलोअपमा रहेको अस्पतालले जनाएको छ।
२१ वर्षअघि सुरु भएको समस्या
बिरामीका परिवारका अनुसार करिब २१ वर्षअघि घाँटीको बायाँ भागमा सानो मासुको डल्लो देखिएको थियो। सुरुमा सामान्य समस्या ठानेर उपचार नगरिए पनि समयसँगै डल्लोको आकार बढ्दै गयो।
२०७२ सालतिर टाउको दुख्ने, ज्वरो आउने तथा अन्य स्वास्थ्य समस्या बढेपछि विस्तृत स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकहरूले मुटुबाट मस्तिष्कतर्फ जाने नसामा ट्युमर रहेको र शल्यक्रिया आवश्यक रहेको बताएका थिए। त्यसपछि बिरामीलाई वीर अस्पतालमा रेफर गरिएको थियो।
शल्यक्रियाको सम्पूर्ण तयारी भइसके पनि चिकित्सकहरूले अपरेशनका क्रममा पक्षघात वा मृत्युको जोखिम हुनसक्ने जानकारी दिएपछि परिवार शल्यक्रिया गर्न हिच्किचायो। त्यही समयमा बिरामीमा मधुमेहसमेत देखिएपछि अपरेशन स्थगित गरिएको थियो।
दुईपटक रोकियो शल्यक्रिया
२०७५ सालतिर अर्को अस्पतालमा पुनः शल्यक्रियाको तयारी गरिए पनि आवश्यक उपकरणमा समस्या आएपछि त्यो पनि रोकियो। त्यसपछि बिरामीले करिब सात महिना थेरापी गराए पनि कुनै सुधार आएन।
यसबीच घाँटीको ट्युमर क्रमशः ठूलो बन्दै गयो। स्वास्थ्य अवस्था पनि जटिल बन्दै जाँदा अत्यधिक टाउको दुख्ने, पसिना आउने, अचेत हुने, शरीर झम्झमाउने र घाँटी कसिएको महसुस हुने समस्या बढ्दै गएका थिए।
दुर्लभ र जटिल ट्युमर
न्युरोसर्जन डा. पावनबहादुर भण्डारीका अनुसार बिरामीको घाँटीमा रहेको ट्युमर बायाँ भर्टिब्रल आर्टरीसँग सम्बन्धित अत्यधिक भास्कुलर ट्युमर थियो। यो मस्तिष्कको धमनी वरिपरिका नसाबाट उत्पन्न हुने अत्यन्तै दुर्लभ प्रकारको ट्युमर हो।
उनका अनुसार ट्युमरको स्थान, उत्पत्ति र वरपर रहेका संवेदनशील संरचनाका कारण यस्तो शल्यक्रिया निकै जटिल मानिन्छ। अनुभवी चिकित्सकहरूको टोलीले सावधानीपूर्वक सात घण्टा लामो शल्यक्रिया गरी ट्युमर पूर्ण रूपमा हटाएको हो।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। डिस्चार्जपछि उनी साउन ५ गते नियमित फलोअप परीक्षणका लागि अस्पताल पुगेकी थिइन्।
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३
शिक्षण अस्पतालमा विभिन्न करार पदका लागि आवेदन आह्वान
बिहीबार, साउन ७, २०८३
स्वास्थ्यसम्बन्धी तीन ऐन संशोधनको मस्यौदा सार्वजनिक, साउन १२ भित्र सुझाव दिन आग्रह
बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
बुधबार, साउन ६, २०८३
