नेपाल हेल्थ न्युज, काठमाडौं । सिन्धुपाल्चोकमा कानुनी मापदण्डविपरीत सञ्चालन हुँदै आएका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकलाई प्रशासनले सिल गरेको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जनस्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि तथा बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिलाई सिलबन्दी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार ती स्वास्थ्य संस्थामाथि जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
संयुक्त अनुगमनका क्रममा ती स्वास्थ्य संस्था आवश्यक अनुमति नलिई सञ्चालन गरिएको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, सरकारले तोकेका मापदण्ड पूरा नगरेको तथा सम्बन्धित निकायबाट दिइएको निर्देशनसमेत पालना नगरेको पाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
यस्तै, इजाजतबिना प्रयोगशाला (ल्याब) तथा एक्स–रे सेवा सञ्चालन गरिएको पनि अनुगमन टोलीले फेला पारेको छ। प्रशासनका अनुसार ती स्वास्थ्य संस्थालाई यसअघि दुई पटकसम्म दर्ता नवीकरण गरी कानुनी प्रक्रियामा आउन निर्देशन तथा पत्राचार गरिएको भए पनि अटेर गरेपछि सिलबन्दी गरिएको हो।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार अनुगमनसँगै निजी स्वास्थ्य संस्थामाथिको निगरानीलाई थप तीव्र बनाइएको जनाएको छ। कानुनविपरीत सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाउँदै सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुनअनुसार दर्ता, नवीकरण तथा सेवा सञ्चालन गर्न आग्रह गरेको छ। कार्यालयले अटेर गर्ने स्वास्थ्य संस्थामाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।
उता, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाको अनुगमन अभियानलाई तीव्र पारिएको जनाएको छ। मन्त्रालयले जनस्वास्थ्यसँग खेलवाड गर्ने तथा कानुनी प्रक्रियाबाहिर सञ्चालन हुने जुनसुकै स्वास्थ्य संस्थामाथि कडा कारबाही गरिने जनाएको छ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३

