नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले घटनामा मृत्यु भएका बिरामीप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडप्रति मन्त्रालयले आपत्ति जनाउँदै यस्ता हिंसात्मक गतिविधिप्रति शून्य सहनशीलताको नीति दोहोर्याएको छ।
मन्त्रालयका अनुसार उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अपनाउने व्यवस्था विद्यमान रहेकाले हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन।
प्रेस विज्ञप्तिमा स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले उपचार प्रक्रियामा संलग्न सेवाग्राही र सेवा प्रदायक दुवैले त्यसको संवेदनशीलता बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ निरन्तर सेवा दिन सक्ने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि जनाएको छ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा सुचारु राख्न आग्रह गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन अनुरोध गरेको छ। साथै, सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझेर उपचार सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न अपिल गरेको छ।
मन्त्रालयले सबै पक्षलाई संयमित भई अस्पतालको सेवा नियमित सञ्चालन गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।
एक महिना नियमित कागती पानी पिउँदा शरीरमा के हुन्छ ?
सोमबार, साउन ११, २०८३
डा. गोविन्द केसी–सरकार वार्ता सहमति नजिक
सोमबार, साउन ११, २०८३

