नेभिगेशन

मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर

नेपाल हेल्थ न्युज, सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिर एकैपटक अगाडि नै गरेको भेटिएको छ।

नेपाल हेल्थ न्युजले साउन १२ गते अस्पतालमा रहेको आधिकारिक हाजिर रजिस्टर अवलोकन गर्दा डा. यादवले साउन २८ गतेसम्मको हाजिर तथा हस्ताक्षर गरिसकेको देखिएको हो।

सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्टरमै भविष्यका मितिसम्मको हस्ताक्षर गरिएको भेटिएपछि कर्मचारी उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन तथा सुशासनप्रति गम्भीर प्रश्न उठेको छ।

यस विषयमा प्रतिक्रिया माग्दा कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ भन्दै सामान्य त्रुटिका रूपमा व्याख्या गरे। साउन १२ गते नै साउन २८ गतेसम्मको हाजिर कसरी भयो भन्ने प्रश्नमा उनले पुनः कहिलेकाहीँ मिस्टेक हुन सक्छ भन्दै फोन सम्पर्क अन्त्य गरेका थिए।

घटनाबारे प्रतिक्रिया लिन सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग सम्पर्क गर्दा उनले पत्रकार भएको जानकारी पाएपछि आफू छलफलमा रहेको भन्दै फोन काटेका थिए। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन।

स्रोतका अनुसार डा. लुस्युनकुमार यादव नगर प्रमुख रामऔतार यादवका छोरा हुन्। उनी सुखीपुर नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

भविष्यको मितिसम्मको हाजिर गरिएको घटनाले सरकारी कार्यालयमा हाजिरी व्यवस्थापन, कर्मचारी जवाफदेहिता तथा प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको छ। 

hajir1-1785236499-1785301122.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट