नेभिगेशन

संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

नेपाल हेल्थ न्युज, काठमाडौं। सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन।

महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयअनुसार अब प्रत्येक महिना १५ दिन व्यतीत भएपछि कर्मचारीलाई तलब तथा भत्ताको भुक्तानी गरिनेछ। यसका लागि सम्बन्धित संघीय निकायबाट निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउन कोलेनिकाहरूलाई निर्देशन दिइएको छ।

सरकारले अर्धमासिक तलब भुक्तानीको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि यो व्यवस्था सबै संघीय निकायमा विस्तार गर्ने घोषणा भए पनि प्रणाली विकासलगायतका कारण कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो।

अब संघीय सरकार मातहतका सबै निकायमा कार्यरत कर्मचारीले मासिक एकपटकको सट्टा १५/१५ दिनमा तलब तथा भत्ता प्राप्त गर्नेछन्।

artha_salary--1787032902.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ