नेभिगेशन

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो 

नेपाल हेल्थ न्युज, काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा)  इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।

नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल  नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको  पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ( पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।

उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न हुनुहुन्थ्यो ।  ‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भन्नुभयो, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ ।’

बालकका आफन्तले साउन ३१ गते आइतबार नर्भिकमा उपचारका लागि ल्याएका थिए । चिकित्सकको टोलीले सोही दिन करिब एक घण्टा १५ मिनेट लगाएर बालकको पेटमा अड्किएको पिन निकाल्न सफल भएको बताएका छन् । पिन निकालेपछि बालकलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको थियो । 

बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले पनि पिन खाएको थाहा पाएकी थिइन् । 

बालकले हेयरपिन खाएको पाँचदिन सम्म पिन आफै दिसामार्फत निस्किन्छ भनेर उनीहरुले चिकित्सकसँग परामर्श मात्रै लिएका थिए । तर पाँचदिन सम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानिय अस्पताल पुगेका थिए ।

स्थानिय अस्पतालले काठमाडौं रेफर गरेपछि उनीहरु रौतहटबाट प्लेनमार्फत काठमाडौंको एक अस्पतालमा आइपुगे । र जाँच गर्दा बच्चाको पेटको पिन अड्किएर बसेको देखिएको थियो । उक्त अस्पतालले उपचारका लागि  भारत जानुपर्ने र नेपालमा उपचार नहुने भनेपछि उनीहरुले प्लेन टिकट समेत काटिसकेका थिए । तर आफन्तमार्फत नर्भिकमा उपचार हुने थाहा पाएपछि उनीहरु नर्भिक आए र डाक्टर अग्रवालसँग सम्पर्क गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट