नेभिगेशन

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई २ अर्ब ६ करोडभन्दा बढी भुक्तानी गर्‍यो

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापतको दाबी रकममध्ये  २ अर्ब ६ करोड ४३ लाखभन्दा बढी भुक्तानी गरेको छ।

बोर्डको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म रुजु भई सूचना प्रविधि शाखाबाट पेश भएका स्वीकृत दाबी रकम तथा विगतमा रुजु भई भुक्तानी हुन बाँकी रकमसमेत समायोजन गरी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा कुल  २,०६,४३,३४,७७२.४४ भुक्तानी गरिएको हो।

बोर्डका अनुसार मिति २०८२ चैत महिनासम्मको रुजु भएको दाबीमध्ये स्वीकृत रकमबाट पेश्की बाँकी रहेका संस्थाको २,३६,९२४.०४ तथा खाता नम्बर उपलब्ध नभएका संस्थाको  ९,३२,२१७. ६६ कट्टा गरिएको थियो। यसैगरी, विगतमा रुजु भइसकेर भुक्तानी हुन बाँकी रहेको  २४,४७,३६२.६३ समेत थप गरी कुल स्वीकृत रकम २,१०,९०,६३,३१३.२६ कायम गरिएको थियो।

स्वास्थ्य बीमा बोर्डको २०८१ चैत १९ गते बसेको बोर्ड बैठकले दाबी भुक्तानीका लागि स्वीकृत रकमको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार रकम कट्टा गरी बाँकी रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरिएको बोर्डले जनाएको छ।

यसका साथै, चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटबाट निकासा प्राप्त रकमबाट आर्थिक वर्ष २०८२/८३ तथा विगत आर्थिक वर्षको फर्छ्यौट गर्न बाँकी २५,४४,९३९ बराबरको पेश्कीसमेत हिसाब मिलान गरिएको बोर्डले जनाएको छ।

बोर्डका उपसचिव (लेखा) पुष्प प्रसाद गुरागाईंले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम भुक्तानी भइसकेको जानकारी दिनुभएको छ। भुक्तानीसम्बन्धी विवरण सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ