नेभिगेशन

स्वास्थ्य बीमाका सेवा प्रदायकले अब ईएमआर प्रणालीमार्फत दाबी पेश गर्नुपर्ने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले अब आफूले प्रदान गर्ने स्वास्थ्य सेवामा प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै  ईएमआर प्रणालीमार्फत नै स्वास्थ्य बीमासम्बन्धी दाबी पेश गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

बोर्डका अनुसार अधिकांश सेवा प्रदायक संस्थाबाट हालसम्म म्यानुअल रूपमा दाबी पेश हुँदै आएको छ। म्यानुअल माध्यमबाट दाबी प्राप्त हुँदा दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियामा बढी समय लाग्ने र सेवा प्रदायक संस्थाहरूलाई दाबी भुक्तानी गर्न समेत ढिलाइ हुने गरेको बोर्डले जनाएको छ।

दाबी भुक्तानीमा हुने ढिलाइका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न हुने अवस्था रहेको भन्दै बोर्डले स्वास्थ्य बीमा प्रणालीलाई समयसापेक्ष रूपमा डिजिटल प्रविधिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले प्रदान गरिरहेका सेवामा ईएमआर प्रणाली लागू गरी सोही प्रणालीमार्फत दाबी पेश गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

त्यसैगरी, स्वास्थ्य संस्थाहरूलाई हाल सञ्चालनमा रहेको अस्पताल सफ्टवेयर, प्रयोग भइरहेका विभिन्न मोड्युलहरू तथा आगामी दिनमा ईएमआर प्रणालीको विस्तार र कार्यान्वयनका लागि तय गरिएको योजनासमेत बोर्डलाई जानकारी गराउन भनिएको छ।

स्वास्थ्य बीमा बोर्डले २०८३ साल भदौ १७ गते जारी गरेको पत्रमा उक्त व्यवस्था कार्यान्वयनका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको हो। पत्रमा वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. पवन कुमार साहको हस्ताक्षर रहेको छ।

health-insurance-11-1788518283.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट