हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउँदै आइएको छ । ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ यसवर्ष सेप्टेम्बर ८ अर्थात भदौ २३ गते विश्व फिजियोथेरापी दिवस मनाईँदै छ ।
विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट प्रतीक पोखरेलले मुटु रोग र पक्षघातको रोकथाम तथा उपचारमा फिजियोथेरापी र शारीरिक गतिविधिको महत्व ज्यादै रहेको बताउनुभएको छ ।
आइसीयू, क्रिटिकल केयर र कार्डियो–रेस्पिरेटरी फिजियोथेरापीमा विशेषज्ञता हासिल गरेका पोखरेलले विश्वभर वर्षेनि करिब २ करोड मानिस मुटु रोग र पक्षघातका कारण मर्ने गरेको बताउँनुभएको छ । उहाँले यी रोगहरू लागिसकेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम हुनेमा जोड दिनुभएको छ।
उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान र शारीरिक निष्क्रियता जस्ता जोखिमलाई समयमै पहिचान गरी व्यवस्थापन गर्न सके यी रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । “फिजियोथेरापिस्टले व्यक्तिको शारीरिक क्षमताको परीक्षण गरी स्वास्थ्यमा थप सुधार ल्याउने किसिमका व्यायाम सुझाउने गर्दछन्,” उहाँले भन्नुभयो ।
व्यायाम भनेको शरीर चलाउने मात्र नभई मुटु र मस्तिष्कको स्वास्थ्यमा गरिने एक प्रकारको लगानी हो, हप्तामा ५ दिन, दैनिक ३० मिनेट शारीरिक गतिविधि गरेमा पक्षघातको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्न सकिने उहाँको भनाई छ ।
पक्षघात भइसकेका बिरामीको सन्दर्भमा पनि फिजियोथेरापीको भूमिका महत्वपूर्ण हुने पोखरेल बताउँनुहुन्छ । बिरामीको शारीरिक शक्ति र सन्तुलन बढाएर उनीहरूलाई पुनः समाजमा पुनस्र्थापना गर्न फिजियोथेरापिस्टले महत्वपूर्ण सहयोग गर्ने उहाँको भनाइ छ ।
फिजियोथेरापिष्ट पोखरेलले सबैलाई निष्क्रिय भएर नबस्न र कुनै न कुनै किसिमको व्यायाममा संलग्न हुन आह्वान गर्नुभएको छ । “मुभमेन्ट (चाल) नै स्वास्थ्यको आधार भएकाले सबैलाई स्वास्थ्य रहन उहाँले आग्रह गर्नुभएको छ ।
भरतपुर अस्पताल विकास समिति अध्यक्ष पदका लागि ११ उम्मेदवार अन्तर्वार्तामा छनोट
मंगलबार, भदौ २३, २०८३
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
मंगलबार, भदौ २३, २०८३
बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मंगलबार, भदौ २३, २०८३
