नेभिगेशन

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमण रोकथामका लागि हैजाविरुद्धको खोप पठाउन थालेको छ।

मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (९२३ बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको छ।

यसअघि रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री तथा खोपको व्यवस्थापनलाई समेत तीव्रता दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट