नेपाल हेल्थ न्युज, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी सुनिता यादवले बताउनुभयो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ तयार गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनियामा र तोपामा बर्थिङ सेन्टर सञ्चालन रहेको जानकारी दिँदै वरसाइनमा पनि सञ्चालन गरिने नीति रहेको जानकारी दिनुभयो ।
वरसाइनस्थित स्वास्थ्यचौकीका प्रमुख मनोज देवले वरसाइन स्वास्थ्यचौकीको ‘बर्थिङ सेन्टर’मा चार वर्षका अवधिमा एक जनाले मात्र सेवा लिएको जानकारी दिनुभयो । स्थानीयवासी सीता मण्डलले गाउँमै रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालन नहुँदा स्वास्थ्य सेवा र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले विसं २०७९ चैत १५ गते ‘बर्थिङ सेन्टर’को शुभारम्भ गर्नुभएको थियो । तिलाठी कोइलाडी –ं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारीको अभावले ‘बर्थिङ सेन्टर’ बन्द भएको जानकारी दिनुभयो ।
अहिले यस ‘बर्थिङ सेन्टर’ मा चार जना कर्मचारी र एक कार्यालय सहयोगी सेवारत छन् । तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने प्रतिबद्वता गरिएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्ति अभावमा बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको जानकारी दिनुभयो । रासस
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
