नेभिगेशन

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्पछिको स्वास्थ्य व्यवस्थापनलाई राहत तथा तत्कालीन प्रतिकार्यमा मात्र सीमित नराखी दीर्घकालीन स्वास्थ्य तयारी, प्रभावकारी सूचना प्रणाली, औषधि आपूर्ति र स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने गरी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ।

मन्त्रालयमा बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा आयोजित विपद्पछिको स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापनासम्बन्धी विज्ञ परामर्श तथा सुझाव संकलन बैठकमा विपद्पछिको स्वास्थ्य अवस्था, देखिएका चुनौती तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे विज्ञ तथा सरोकारवालासँग विस्तृत छलफल गरिएको हो।

बैठकमा विभिन्न स्वास्थ्य परिषद्, व्यावसायिक संघ–संस्था तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायका अध्यक्ष तथा प्रतिनिधि, पूर्व स्वास्थ्य सचिव तथा महानिर्देशक, स्वास्थ्य सेवा विभागअन्तर्गतका सम्बन्धित महाशाखा तथा निर्देशनालयका प्रतिनिधि, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख, स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि तथा जनस्वास्थ्य विज्ञहरूको सहभागिता थियो।

छलफलका क्रममा विपद्पछि देखिन सक्ने संक्रामक, पानीजन्य तथा खाद्यजन्य रोगको जोखिम नियन्त्रण, डेंगु, हैजा तथा छालासम्बन्धी रोगको निगरानी र रोकथामलाई प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका थिए। साथै, मानसिक स्वास्थ्य, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता, स्वास्थ्य संस्थाको निरन्तर सञ्चालन र आवश्यक स्वास्थ्य जनशक्तिको तत्काल परिचालनका विषयमा समेत सुझाव दिइएको थियो।

विज्ञहरूले विपद्पछिको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। आघातपछिको मानसिक तनाव न्यूनीकरण, मानसिक स्वास्थ्य सेवाको विस्तार, विद्यालयस्तरमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन तथा समुदायमा जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्ने उनीहरूको सुझाव थियो।

त्यस्तै, विपद् व्यवस्थापनका लागि छुट्टै र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने स्रोत सुनिश्चित गर्नुपर्ने तथा जोखिममा रहेका परिवार र समुदायलाई लक्षित गरी राहत तथा स्वास्थ्य सेवाको एकीकृत प्याकेज विकास गर्नुपर्ने सुझाव पनि बैठकमा प्राप्त भएको थियो।

सहभागी विज्ञ तथा सरोकारवालाले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्ने, विपद्का समयमा प्रभावकारी समन्वय गर्ने र विपद्पछि स्वास्थ्य तथा पुनर्स्थापनाका कामलाई दीर्घकालीन योजनासहित अघि बढाउने गरी स्वास्थ्य प्रणालीलाई थप सक्षम र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए।

मन्त्रालयले बैठकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समेट्दै विपद्पछिको स्वास्थ्य प्रतिकार्य, पुनर्स्थापना तथा दीर्घकालीन स्वास्थ्य तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट