नेभिगेशन

वीर अस्पतालमा दुर्लभ मस्तिष्कको सफल शल्यक्रिया

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा एक ४७ वर्षीया महिलाको मस्तिष्कमा रहेका ६ वटा एन्युरिजम एउटै शल्यक्रियात्मक पहुँचबाट सफलतापूर्वक क्लिपिङ गरिएको छ। चिकित्सकहरूका अनुसार एउटै पहुँचबाट मस्तिष्कका दुवै पक्षमा रहेका यति धेरै एन्युरिजमको शल्यक्रिया गर्नु अत्यन्तै जटिल र दुर्लभ मानिन्छ।

मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल भर्ना हुनुभएकी ती महिलाको स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कका दुवै पक्षमा गरी सात वटा एन्युरिजम फेला परेको थियो।

सामान्यतया मस्तिष्कका दुवै पक्षमा रहेका एन्युरिजमको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षमा रहेका ६ वटा एन्युरिजममा सफलतापूर्वक क्लिप लगाउनुभएको हो।

करिब सात घण्टा चलेको उक्त जटिल शल्यक्रियाको नेतृत्व प्रा.डा. राजीव झाले गर्नुभएको थियो। शल्यक्रियामा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी हुनुभएको थियो।

त्यस्तै, एनेस्थेसिया तथा शल्यक्रियामा सहयोग गर्ने टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा. मनोज विष्ट, डा. ल्हाक्पात्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा. ऋतु प्रधान, डा. सन्दीप किरण प्रधान र डा. गौरव रत्न बज्राचार्य रहनुभएको थियो। नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र यज्जु मानन्धर सहभागी हुनुभएको थियो।

बिरामीको मस्तिष्कमा रहेको सातौँ एन्युरिजमको उपचार भने क्याथेटरमार्फत रक्तनलीभित्रैबाट गर्ने योजना बनाइएको अस्पतालले जनाएको छ।

चिकित्सकहरूका अनुसार एन्युरिजम फुटेर मस्तिष्कमा रक्तस्राव हुनु गम्भीर अवस्था हो। यस्तो अवस्थामा बिरामीको मृत्यु हुनु वा दीर्घकालीन स्नायुसम्बन्धी अशक्तता हुने जोखिम उच्च रहने गर्छ।

वीर अस्पतालको न्युरोसर्जरी टोलीले यसअघि पनि यस्तै प्रविधिबाट नौ जना बिरामीमा एन्युरिजम क्लिपिङ गरिसकेको जनाएको छ। सफल शल्यक्रियापछि बिरामी हाल पूर्ण रूपमा होसमा रहनुभएको र कुनै पनि स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जनाएको छ।

एउटै शल्यक्रियात्मक पहुँचबाट मस्तिष्कका दुवै पक्षमा रहेका ६ वटा एन्युरिजमको सफल क्लिपिङ हुनु नेपालमा जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको अस्पतालको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट