नेभिगेशन

३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्‍यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी

नेपाल हेल्थ न्युज,  काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई करिब १ अर्ब ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६४ पैसा रकम  भुक्तानी गरेको छ।

बोर्डको २०८३ भदौ २४ गतेको निर्णयअनुसार २०८३ वैशाख महिनासम्मका रुजु भई सूचना प्रविधि शाखाबाट पेश भएका स्वीकृत दाबी रकममध्येबाट विभिन्न शीर्षकमा रकम कट्टा गरी सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी गरिएको हो।

बोर्डका अनुसार कुल स्वीकृत दाबी रकम २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ ६३ पैसा रहेको थियो। यसबाट पेश्की बाँकी रहेका संस्थाको २ लाख २ हजार ९१४ रुपैयाँ ६७ पैसा, खाता नम्बर उपलब्ध नभएका संस्थाको  २ करोड ४२ लाख ३४ हजार २७१ रुपैयाँ तथा दुई वटा संस्थाको हाल रोक्का राखिएको ५८ लाख ९३ हजार ९३० रुपैयाँ ५४ पैसा कट्टा गरिएको बोर्डले जनाएको छ।

त्यसपछि कायम भएको स्वीकृत रकमबाट स्वास्थ्य बीमा बोर्डको २०८१ चैत १९ गतेको बोर्ड बैठकको निर्णयअनुसार दाबी भुक्तानी रकमको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने रकमसमेत कट्टा गरी बाँकी रकम भुक्तानी गरिएको हो।

बोर्डले २०८३ भदौ २५ गते आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटबाट निकासा प्राप्त रकममार्फत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा कुल १ अर्ब ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६४ पैसा भुक्तानी भएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका उपसचिव (लेखा) पुष्प प्रसाद गुरागाईंद्वारा जारी सूचनामार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो। बोर्डले भुक्तानीसम्बन्धी विवरण सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थाको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ।

विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट