नेपाल हेल्थ न्युज, राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले एक चिकित्सकसहित छ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ।
घटना भएको दिन प्रसूति वार्डमा ड्युटीमा रहेका चार जना स्वास्थ्यकर्मी, एक जना चौकीदार र एक जना सरसफाइकर्मीलाई छानबिन समितिको अन्तिम प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ।
अस्पतालले शुक्रबार जारी गरेको पत्रअनुसार घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्म सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाइएको हो।
कामकाजबाट हटाउनेमा चिकित्सक डा. उषा देव, स्टाफ नर्स मनिषाकुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले उक्त जानकारी दिनुभएको हो।
राजविराज नगरपालिका–१४, परसाही टोलकी २९ वर्षीया बबिता पासमानले अस्पताल परिसरको मूल गेटबाहिर बच्चा जन्माएको भिडियो भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाबारे चौतर्फी चासो र आलोचना बढेको थियो।
घटनाको वास्तविक अवस्था पत्ता लगाउन अस्पताल प्रशासनले छानबिन समिति गठन गरेको छ। यसबाहेक घटनाबारे विभिन्न निकायले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य कार्यालयका प्रमुख डा. सतीशकुमार यादवको नेतृत्वमा तथा मधेश प्रदेश सभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेको जनाएको छ।
सम्बन्धित समितिहरूले छानबिन कार्य सुरु गरिसकेका छन्। छानबिनबाट घटनाको वास्तविक अवस्था र जिम्मेवारीबारे स्पष्ट भएपछि थप निर्णय हुने अस्पताल प्रशासनले जनाएको छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

