आजकाल धेरै मानिसहरूमा घुँडा दुख्ने समस्या स्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेको छ । उमेर, जीवनशैली र शारीरिक अवस्थाका कारण यो समस्या जोकोहीलाई पनि हुन सक्छ । समयमै ध्यान नदिँदा सामान्य दुखाइले पछि गम्भीर रूप लिन सक्छ ।
घुँडा दुख्ने मुख्य कारण
उमेर र लैङ्गिक अवस्थाः विशेष गरी ४०–४५ वर्ष नाघेपछि यो समस्या बढी देखिन्छ । पुरुषको तुलनामा महिलाहरूमा यो समस्या धेरै पाइन्छ । महिलाहरूमा मोटोपन बढी हुनु र भान्सामा लामो समय उभिएर काम गर्दा घुँडाको जोर्नीमा अत्यधिक प्रेसर पर्नु यसको मुख्य कारण हो ।
उमेर बढ्दै जाँदा खिइने समस्याः उमेर बढ्दै जाँदा घुँडाको भित्री भाग (मिडियल ज्वाइन्ट) को ग्याप बिस्तारै कम हुँदै जान्छ र हड्डीहरू खिइने समस्या सुरु हुन्छ । युवा अवस्थामा हुने चोटपटकः युवाहरूमा खेलकुदका क्रममा वा लडेर चोट लाग्दा लिगामेन्ट वा मेनिस्कस च्यातिएर घुँडा दुख्ने गर्दछ ।
मेनिस्कस भनेको दुईवटा हड्डीको बीचमा हुने प्राकृतिक कुसन वा सिरानी जस्तो भाग हो, जसले हड्डीहरूलाई आपसमा घर्षण हुनबाट जोगाउँछ । बालबालिकामा हुने समस्याः साना बच्चाहरूमा घुँडा दुख्यो भने त्यो बाथ रोग वा अन्य कुनै भित्री रोगको लक्षण हुन सक्छ ।
बाथ हुँदा घुँडामा आवश्यकभन्दा बढी साइनोभियल फ्लुइड (जोर्नीलाई चलायमान बनाउने तरल पदार्थ) उत्पादन हुन्छ, जसले गर्दा घुँडा सुन्निने र कक्रक्क परेर उठ्न–बस्न गाह्रो हुने हुन्छ । इन्फेक्सन र अन्य रोगः कतिपय अवस्थामा क्षयरोग, क्यान्सर वा घुँडामा हुने प्रत्यक्ष इन्फेक्सनका कारण पनि घुँडा दुख्न सक्छ ।
अस्टियोआर्थराइटिसका चरण र उपचार
घुँडा खिइने रोग (अस्टियोआर्थराइटिस) लाई दुखाइ र गम्भीरताका आधारमा चारवटा चरणमा विभाजन गरिन्छः
चरण अवस्था उपचार पद्धति
- पहिलो चरण सुरुवातको अवस्था, सामान्य दुखाइ सामान्य औषधि र फिजियोथेरापी।
- दोस्रो चरण मध्यम दुखाइ, ग्याप थोरै घट्नु औषधि, थेरापी र पीआरपी (प्लेटलेट रिच प्लाज्मा) इन्जेक्सन।
- तेस्रो चरण बढी दुखाइ, हिँडडुलमा समस्या औषधि, कम्बिनेसन थेरापी र पीआरपी ।
- चौथो चरण गम्भीर अवस्था, हड्डीहरू निकै खिइनु लामो समयसम्म (६ महिनादेखि २ वर्ष) कम्बिनेसन थेरापी वा शल्यक्रिया
आजकाल मेनिस्कस च्यातिएको वा तेस्रो र चौथो ग्रेड पुगिसकेका बिरामीहरूको पनि पीआरपी र म्यानुअल थेरापीको माध्यमबाट शल्यक्रिया नगरी सफल उपचार गर्न सम्भव भएको छ ।
रोग पहिचान र परीक्षण विधि
घुँडाको भित्री अवस्था बुझ्न एक्स–रे वा एमआरआई गरिन्छ । तर, घुँडाको एक्स–रे गर्दा सधैँ उभिएको अवस्थामा गर्नुपर्छ । सुतेर गरिएको एक्स–रेबाट शरीरको तौल घुँडामा पर्दा देखिने वास्तविक ग्याप थाहा पाउन सकिँदैन ।
गलत अभ्यास र बिरामीले गर्ने लापरवाही
धेरैजसो बिरामीले चिकित्सकको सल्लाह बिना पेन किलर खाएर हिँडडुल गर्छन् । यसले अस्थायी रूपमा दुखाइ त कम गर्छ, तर भित्रभित्रै घुँडाको ग्याप झन् घट्दै गएर अन्ततः शल्यक्रिया नै गर्नुपर्ने स्थिति निम्त्याउँछ ।
बजारमा पाइने तेल मालिसले एकछिनलाई आराम दिए पनि यसले घुँडा खिइएको वा ग्याप घटेको समस्यालाई निको पार्न सक्दैन । धेरै बिरामी घरमा गर्नुपर्ने व्यायाम नियमित गर्दैनन्, जसले गर्दा समस्या बल्झिएर शल्यक्रियाको चरणमा पुग्छ ।
बच्ने उपाय र सुझाव
समयमै परीक्षणः घुँडा दुख्न थाल्ने बित्तिकै हेलचेक्य्राइँ नगरी सम्बन्धित हाडजोर्नी विशेषज्ञ वा फिजियोथेरापिस्टसँग सल्लाह लिनुपर्छ । पहिलो चरणमै उपचार गरेमा रोग अगाडि बढ्न पाउँदैन । म्यानुअल थेरापी एक विशेष फिजियोथेरापी प्रविधि हो, जसले घुँडाको घटेको ग्यापलाई प्राकृतिक रूपमा बढाउन मद्दत गर्छ ।
भान्छामा लामो समय उभिएर काम गर्ने महिला वा वृद्धवृद्धाहरूले उभिइरहनुको साटो मेच वा कुर्सीमा बसेर, उठ्दै र बस्दै काम गर्ने बानी बसाल्नुपर्छ । चिकित्सक वा थेरापिस्टले सिकाएका व्यायामहरू घरमा नियमित रूपमा गर्नाले तौल बढी (९० देखि ११० केजी सम्म) भएका बिरामीहरू पनि बिना शल्यक्रिया निको हुन सक्छन् ।
एउटा सानो आगोको झिल्काले घर जलाए जस्तै घुँडाको सामान्य दुखाइमा गरिने हेलचेक्य्राइँले पछि ठूलो रूप लिन सक्छ । त्यसैले समयमै सही उपचार र अनुशासित जीवनशैली अपनाऔँ ।
