नेभिगेशन
रेडियोलोजी तथा मेडिकल इमेजिङलाई चिकित्सकको उपचार निर्णयको मेरुदण्ड

रेडियोलोजी तथा मेडिकल इमेजिङः उपचार निर्णयको मेरुदण्ड

कुनै पनि न्यूरो रोगको उपचार सुरु गर्नुअघि रोगको प्रकृति, स्थान, गम्भीरता र सम्भावित जटिलताको यथार्थ जानकारी इमेजिङ प्रविधिबाट नै प्राप्त

नेपालमा सबैभन्दा बढी देखिने स्नायु सम्बन्धी रोगमध्ये स्ट्रोक अग्रस्थानमा छ । त्यसपछि छारेरोग, सडक दुर्घटनाबाट हुने ट्रमाटिक ब्रेन इन्जुरी, मस्तिष्क तथा मेरुदण्डका संक्रमण, पार्किन्सन्स, डिमेन्सिया, मल्टिपल स्क्लेरोसिस, पेरिफेरल न्युरोप्याथी उल्लेखनीय छन् । त्यसैले रेडियोलोजी तथा मेडिकल इमेजिङलाई चिकित्सकको उपचार निर्णयको मेरुदण्ड मानिन्छ ।

कुनै पनि न्यूरो रोगको उपचार सुरु गर्नुअघि रोगको प्रकृति, स्थान, गम्भीरता र सम्भावित जटिलताको यथार्थ जानकारी इमेजिङ प्रविधिबाट नै प्राप्त हुन्छ । नेपालमा बाँचिरहेका स्ट्रोकका बिरामीहरुमध्ये धेरैजसोमा पक्षघात, शारीरिक अशक्तता तथा दीर्घकालीन अपाङ्गताको समस्या पाइएको छ । त्यसैले रोगको पहिचानमा ढिलाई गर्न हुँदैन । यसले उपचार मात्र नभई बिरामीको जीवनभरको गुणस्तरमासमेत असर पर्छ । 

किन आवश्यक छ रेडियोलोजी?
रेडियोलोजीले मस्तिष्क तथा स्नायु प्रणालीको संरचना, कार्यप्रणाली, मेटाबोलिज्म तथा कोशिकास्तरसम्मको अवस्थाबारे जानकारी दिन्छ । यही आधारमा औषधि वा शल्यक्रिया गर्ने भन्ने निर्णय गर्न सकिन्छ ।

कुन रोगमा कुन प्रविधि?
रेडियोलोजीमा अहिले विभिन्न अत्याधुनिक प्रविधि उपलब्ध छन् । एक्स–रे, सीटी स्क्यान, एमआरआई, फङ्सनल एमआरआई, डिफ्युजन टेन्सर इमेजिङ, पफ्र्युजन एमआरआई, एमआर स्पेक्ट्रोस्कोपी, पीईटी–सीटी, पीईटी–एमआरआई, सीटी एन्जियोग्राफी तथा डिजिटल सब्ट्रयाक्सन एन्जियोग्राफी (डिएसए) जस्ता प्रविधिले रोगको प्रकृतिअनुसार फरक–फरक जानकारी प्रदान गर्छन् ।

सीटी स्क्यानः आपतकालीन अवस्थाको पहिलो रोजाइ
स्ट्रोक भएका बिरामी अस्पताल पुगेपछि सबैभन्दा पहिले गरिने परीक्षण सीटी स्क्यान हो । यसबाट मस्तिष्कमा रक्तस्राव भएको हो वा रक्तनली बन्द भएर स्ट्रोक भएको हो भन्ने कुरा केही मिनेटमै छुट्याउन सकिन्छ । यही जानकारीका आधारमा औषधि दिने कि तत्काल शल्यक्रिया गर्ने भन्ने निर्णय हुन्छ ।

एमआरआईः विस्तृत र सूक्ष्म मूल्याङ्कनको माध्यम

सीटी स्क्यानभन्दा एमआरआईले धेरै विस्तृत जानकारी दिन्छ । भर्खरै सुरु भएको स्ट्रोक, ब्रेन ट्युमर, छारेरोग, मल्टिपल स्क्लेरोसिस, जन्मजात मस्तिष्क विकृति, पिट्युटरी ग्रन्थीका समस्या तथा मेरुदण्डका रोगहरूमा एमआरआईलाई उत्कृष्ट परीक्षण मानिन्छ ।

विशेषगरी फङ्सनल एमआरआई तथा डिफ्युजन टेन्सर इमेजिङमार्फत शल्यक्रियाअघि मस्तिष्कका संवेदनशील भागहरूको नक्साङ्कन गर्न सकिन्छ जसले अपरेसनलाई सुरक्षित र प्रभावकारी बनाउँछ । यद्यपि एमआरआई गर्न समय बढी लाग्ने भएकाले अत्यन्त अस्थिर बिरामीमा सुरुमा सीटी स्क्यानलाई प्राथमिकता दिइन्छ ।

रेडियोलोजिस्टको रिपोर्टले निर्धारण गर्छ उपचारको दिशा

रेडियोलोजिस्टले तयार गरेको इमेजिङ रिपोर्टकै आधारमा न्यूरोसर्जन, न्यूरोलोजिस्ट तथा अन्य विशेषज्ञ चिकित्सकले उपचारको सम्पूर्ण योजना बनाउँछन् । यदि निदानमा त्रुटि भएमा प्रत्यक्ष असर उपचारमा पर्नसक्छ । त्यसैले रोगको सही विश्लेषण गर्न अत्यन्त उच्च दक्षता, अनुभव र क्लिनिकल जानकारीको आवश्यकता पर्छ ।

बिरामीको अवस्था अनुसार छनोट हुनुपर्छ परीक्षण
हरेक बिरामीलाई एउटै परीक्षण आवश्यक नपर्नसक्छ । आपतकालीन अवस्थामा सीटी स्क्यान उपयुक्त हुन्छ भने जटिल स्नायु रोग, ब्रेन ट्युमर वा मेरुदण्ड सम्बन्धी रोगमा एमआरआई नै प्राथमिक रोजाइ हुनुपर्छ । त्यसैगरी चिकित्सकले रेडियोलोजिस्टलाई बिरामीको क्लिनिकल विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्छ ।  क्लिनिकल जानकारी र इमेजिङ नतिजाको संयोजनबाट मात्रै सही निदान सम्भव हुन्छ ।

एआई र प्रेसिजन मेडिसिनले बदल्दैछ रेडियोलोजी
विश्वभर रेडियोलोजी क्षेत्रमा अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रेसिजन मेडिसिनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । भविष्यको चिकित्सा प्रणाली प्रत्येक बिरामीको आनुवंशिक, जैविक तथा मेटाबोलिक विशेषताअनुसार व्यक्तिगत उपचारतर्फ अघि बढिरहेको छ । यस परिवर्तनसँगै रेडियोलोजिस्टले नयाँ प्रविधि, अनुसन्धान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे निरन्तर अध्ययन र अद्यावधिक भइरहनुपर्ने आवश्यकता झन् बढेको छ ।

नेपालमा सेवा विस्तार अझै चुनौतीपूर्ण
नेपालमा रेडियोलोजी सेवामा उल्लेखनीय प्रगति भए पनि अत्याधुनिक इमेजिङ सेवा अझै शहरी क्षेत्रमा केन्द्रित छ । दुर्गम तथा विकट जिल्लाका बिरामीले सीटी स्क्यान, एमआरआईजस्ता सेवाका लागि लामो दूरी तय गर्नुपर्छ ।

सरकारले प्रदेश तथा जिल्ला तहसम्म आधुनिक इमेजिङ सेवा विस्तार, आवश्यक उपकरण उपलब्ध गराउने, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ सेवा विकेन्द्रीकरणमा प्राथमिकता दिन आवश्यक छ । यसले समयमै रोग पहिचान, प्रभावकारी उपचार तथा अपाङ्गता र मृत्युदर दुवै घटाउन महत्वपूर्ण योगदान पु¥याउँछ ।

नेपालमा बढ्दो न्यूरो रोगको चुनौती सामना गर्न अत्याधुनिक इमेजिङ प्रविधि, दक्ष रेडियोलोजिस्ट, निरन्तर प्रविधि अद्यावधिक र देशव्यापी सेवा विस्तार आजको प्रमुख आवश्यकता बनेको छ ।

सही समयमा सही परीक्षण र सही रिपोर्टले हजारौं बिरामीको जीवन बचाउन सक्ने भएकाले रेडियोलोजी आधुनिक स्वास्थ्य सेवाको अपरिहार्य स्तम्भका रूपमा स्थापित भइसकेको छ । 

(डा. शर्मा बी एण्डसी मेडिकल कलेजका प्रिन्सिपल तथा प्रोफेसर हुनुहुन्छ ।)
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्