आजकल युवा उमेरमै गर्दन र ढाडको समस्या बढेको पाइएको छ । हामी शारीरिक गतिविधिभन्दा टेबलमा बसेर काम गर्ने भएका छौँ । लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटर चलाउने, गलत पोस्चरमा बस्ने, सोफामा ढल्किएर लामो समय बिताउने जस्ता बानीले गर्दन तथा ढाडमा अनावश्यक दबाब सिर्जना गरेको पाइन्छ । त्यसैगरी आफ्नो क्षमताभन्दा बढी वजन उठाउने प्रवृत्ति पनि जोखिमपूर्ण हुनसक्छ । शरीरलाई आवश्यक तयारी नगरी अत्यधिक भार उठाउँदा मांसपेशी, लिगामेन्ट, डिस्क तथा मेरुदण्डमा समस्या आउनसक्छ । हड्डी कमजोर हुनु, पोषणको कमी, भिटामिन डी तथा क्याल्सियमको पर्याप्तता नहुनुजस्ता पक्षले पनि हड्डी तथा मेरुदण्डको स्वास्थ्यमा प्रभाव पार्न सक्छन् ।
जेनेटिकभन्दा जीवनशैलीको भूमिका बढी
हरेक रोगमा कुनै न कुनै हदसम्म आनुवंशिक पक्षको भूमिका हुनसक्छ । शरीरको बनावट, कुनै रोगप्रति शरीरले गर्ने प्रतिक्रिया आदिमा आनुवंशिक पक्ष जोडिन सक्छ । तर गर्दन वा ढाडमा नसा च्यापिने धेरै समस्यामा जीवनशैली, पोस्चर, खानपान र शारीरिक गतिविधि महत्वपूर्ण पक्ष मानिन्छ ।
अर्कोतर्फ ‘नसा च्यापियो भने हड्डी खिएर मात्र हो’ भन्ने बुझाइ पनि सही होइन । क्षयरोग, संक्रमण, ट्युमरलगायत विभिन्न रोगका कारण पनि मेरुदण्डमा परिवर्तन आएर स्नायुमा दबाब पर्नसक्छ । त्यसैले ‘नसा च्यापियो’ भन्ने एउटै नाम भए पनि त्यसको कारण फरक–फरक हुन सक्छ । कारण पत्ता नलगाई उपचार सुरु गर्नु उचित हुँदैन ।
नसा च्यापिँदैमा अपरेसन चाहिँदैन
गर्दन वा ढाडमा नसा च्यापिदैमा सबै बिरामीको अपरेसन गर्नुपर्छ भन्ने हुँदैन । रोगको अवस्था, कारण र त्यसले स्नायुमा पारेको प्रभाव हेर्नुपर्छ । स्नायुमा अत्यधिक दबाब नपरेको हल्का वा शुरुवातीको अवस्थामा औषधि, फिजियोथेरापी तथा आवश्यक रिह्याबिलिटेसनबाट धेरै बिरामीमा सुधार आउनसक्छ ।
तर उपचार गर्दागर्दै पनि समस्या झन् बढ्दै गएमा त्यसलाई सामान्य रूपमा लिनुहुँदैन । उदाहरणका रूपमा हातखुट्टा झन् कमजोर हुँदै जानु, लाटोपन बढ्नु, हिँडडुलमा समस्या आउनु वा दिसा–पिसाबको नियन्त्रण तथा कार्यमा समस्या देखिनुजस्ता लक्षण आएमा रोग गम्भीर रूपमा अघि बढिरहेको संकेत हुनसक्छ । यस्तो अवस्थामा विशेषज्ञको पुनः मूल्यांकन आवश्यक हुन्छ ।
‘अपरेसन नगर्ने’ होइन, ‘सही समयमा सही उपचार गर्ने’
अपरेसनको विषयमा हाम्रो समाजमा अर्को ठूलो भ्रम छ—‘ढाडको अपरेसन गरेपछि झन् बिग्रिन्छ’, ‘गर्दनमा अपरेसन गर्नै हुँदैन’ । तर अपरेसन आवश्यक नभएको अवस्थामा अपरेसन गर्नु उचित होइन । तर अपरेसन आवश्यक भएको अवस्थामा डरका कारण उपचार ढिला गर्नु पनि हुँदैन । यसलाई म बाढी आउनुअघि बाँध बाँध्ने उदाहरणसँग तुलना गर्छु ।
समस्या धेरै गम्भीर हुनुअघि नै आवश्यक उपचार गर्न सकियो भने परिणाम राम्रो हुनसक्छ । तर रोग धेरै अघि बढिसकेपछि उपचार गर्नुपर्दा अवस्था जटिल हुनसक्छ । त्यसैले अपरेसनको निर्णय रोगको अवस्था, लक्षण, परीक्षणको परिणाम र बिरामीको समग्र अवस्थाका आधारमा गर्नुपर्छ ।
एन्डोस्कोपिक कि माइक्रोस्कोपिक ?
आजकल बिरामीहरूले ‘एन्डोस्कोपिक सर्जरी’ बारे धेरै जिज्ञासा राख्नुहुन्छ । एन्डोस्कोपिक प्रविधिमा सानो चिरामार्फत विशेष उपकरण र क्यामेराको सहयोगमा समस्याको ठाउँसम्म पुगिन्छ । यसमा मांसपेशीमा हुने क्षति तुलनात्मक रूपमा कम हुन्छ ।
यसले गर्दा केही बिरामीमा दुखाइ कम हुनु, छिटो हिँडडुल गर्न सक्नु र अस्पताल बसाइ छोटो हुनुजस्ता फाइदा हुन सक्छन् । तर यसको अर्थ माइक्रोस्कोपिक सर्जरी पुरानो वा कम प्रभावकारी भयो भन्ने होइन । माइक्रोस्कोपको प्रयोग गरेर गरिने शल्यक्रिया लामो समयदेखि प्रयोग हुँदै आएको, प्रमाणित र प्रभावकारी विधि हो ।
आधुनिक प्रविधिका कारण यसमा पनि धेरै सुधार भएको छ र उपयुक्त बिरामी धेरैजसो छोटो समयमै घर फर्कन सक्छन् । त्यसैले एन्डोस्कोपिक राम्रो र माइक्रोस्कोपिक नराम्रो भन्ने तुलना गर्नु उचित हुँदैन । कुन प्रविधि प्रयोग गर्ने भन्ने कुरा रोगको प्रकृति र बिरामीको अवस्थाले निर्धारण गर्छ ।
प्रविधि चिकित्सकको हातमा रहेको एउटा साधन हो । यसलाई म चम्चा–काँटासँग तुलना गर्छु । सुप काँटाले खान मिल्दैन, त्यस्तै हरेक रोगको उपचार एउटै प्रविधिबाट गर्न मिल्दैन । कुन रोगमा कुन प्रविधि उपयुक्त हुन्छ भन्ने चिकित्सकीय निर्णय नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।
अपरेसनदेखि डराउनु हुँदैन, तर हतार पनि गर्नु हुँदैन
अपरेसन भन्नेबित्तिकै डराउनु आवश्यक छैन । त्यस्तै अपरेसन गर्नैपर्छ भनेर चिकित्सक वा बिरामी दुवैले हतार गर्नु पनि हुँदैन । दर्जीले कपडा काट्नुअघि पटक–पटक नापेझैँ चिकित्सकले पनि अपरेसनअघि रोग, बिरामीको अवस्था र सम्भावित फाइदा–जोखिम राम्रोसँग मूल्यांकन गर्नुपर्छ ।
मेरो विचारमा डाक्टर र बिरामीबीचको सम्बन्ध ‘म डाक्टर, तिमी बिरामी’ भन्ने मात्र हुनुहुँदैन । दुवैजना रोगविरुद्ध लड्ने साझेदार हुनुपर्छ । बिरामीले पनि चिकित्सकसँग आफ्ना प्रश्न, डर र शंका खुलस्त राख्नुपर्छ । चिकित्सकले पनि आवश्यक नभएको अपरेसन गर्न हतार गर्नु हुँदैन ।
तर आवश्यक भएको अवस्थामा अपरेसनको डर देखाएर उपचारबाट भाग्नु पनि हुँदैन । मैले आफ्नो करियरमा यस्ता धेरै बिरामी भेटेको छु जसले वर्षौँसम्म दुखाइ सहेर बसेका थिए । उनीहरूलाई अपरेसन गरेपछि खुट्टा नचल्ने वा पक्षघात हुने डर थियो । तर सही बिरामीमा सही समयमा गरिएको उपचारपछि उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको छ । त्यसपछि कतिपय बिरामीले भन्नुहुन्छ—‘मैले यति वर्ष किन डराएर बसेँ होला ?’
उपचारको अन्तिम लक्ष्य अपरेसन मात्र होइन
न्युरोसर्जरीको काम अपरेसन गरेर सकिँदैन । अपरेसन उपचारको एउटा चरण हो । त्यसपछि बिरामीलाई पुनः आफ्नो सामान्य जीवनमा फर्काउनु पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले फिजियोथेरापी र रिह्याबिलिटेसनलाई उपचारको अभिन्न अंगका रूपमा हेर्नुपर्छ । आजको चिकित्सा रोग भएपछि उपचार गर्नेमा सीमित हुनुहुँदैन ।
प्रिभेन्टिभ मेडिसिन र रिह्याबिलिटेटिभ मेडिसिन पनि उत्तिकै महत्वपूर्ण छन् । बिरामी आफ्नो पुरानो काम, अध्ययन, पेशा र सामाजिक जीवनमा सकेसम्म सुरक्षित रूपमा फर्कन सक्ने बनाउनु नै उपचारको वास्तविक सफलता हो ।
बिरामीलाई मेरो सन्देश
ढाड वा गर्दनमा समस्या भएमा आत्तिनु पर्दैन । त्यसैगरी ‘अपरेसन कहिल्यै गर्नु हुँदैन’ भन्ने सोच पनि राख्नुहुँदैन । पहिले सही रोग पत्ता लगाउनुहोस्, विशेषज्ञसँग परामर्श लिनुहोस् र त्यसपछि उपचारको निर्णय गर्नुहोस् । नसा च्यापिएको अवस्थामा औषधि र फिजियोथेरापीबाट सुधार हुने बिरामी पनि धेरै हुन्छन् ।
कतिपय अवस्थामा भने अपरेसन आवश्यक पर्न सक्छ । त्यसैले सबै बिरामीलाई एउटै नियम लागू हुँदैन र एउटा कुरा सधैँ सम्झनुपर्छ—‘राइट पर्सन, राइट ट्रीटमेन्ट र राइट टाइमिङ’ नै राम्रो उपचारको आधार हो ।
‘बी एण्ड बी न्युरो सेन्टर’
बिरामीले ‘बिरामीले दिमागमा ट्युमर छ, रक्तनलीमा समस्या छ वा ढाडको नसा च्यापिएको छ भने कहाँ जाने ?’ भनेर अन्योलमा पर्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सेन्टरको उद्देश्य कुनै एक व्यक्तिको नाममा मात्र सेवा केन्द्रित गर्नु नभई न्युरोसर्जन, न्युरोलोजिस्ट, नर्स, फिजियोथेरापिस्ट, रिह्याबिलिटेसन विशेषज्ञ तथा व्यवस्थापकीय जनशक्तिसहितको समन्वित टिममार्फत स्नायु रोगको समग्र उपचार उपलब्ध गराउनु हो । एउटै छानामुनि आवश्यक विशेषज्ञ, परीक्षण, उपचार, शल्यक्रिया र पुनस्र्थापनाको समन्वय हुनु बिरामीका लागि ठूलो सहजता हो ।
