नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले प्रदेश स्वास्थ्य सचिवमा पुनः संघीय कर्मचारीलाई नियुक्त गर्ने सरकारको निर्णयप्रति विरोध जनाएका छन्।
प्रदेशमा सचिव बन्न योग्य पर्याप्त कर्मचारी हुँदाहुँदै संघबाट कर्मचारी पठाउने निर्णय गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। यसैक्रममा कर्मचारीहरूले आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, स्वास्थ्यमन्त्री गिरबहादुर तामाङलगायत सम्बन्धित निकायका प्रमुखलाई भेटेर ध्यानाकर्षण तथा विरोधपत्र बुझाएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
सोही बैठकले प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिने गरी डा. अवधेशकुमार मिश्रलाई बागमती प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ। हाल उनी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एघारौँ तहका कन्सल्ट्यान्ट फिजिसियनका रूपमा कार्यरत छन्।
सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै एक कर्मचारीले प्रदेशमा सचिव बन्न योग्य एघारौँ तहका ६ जना अधिकृत हुँदाहुँदै संघबाट कर्मचारी पठाउनु उचित नभएको बताए।
‘डा. मिश्रलाई स्वास्थ्य सचिवमा पठाउने गरी बागमती प्रदेशमा सरुवा गरिएको रहेछ। हामीले पत्र हेरिसकेका छौँ। अब विरोधमा उत्रिनुको विकल्प छैन। त्यसैले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतका निकायमा ध्यानाकर्षण तथा विरोधपत्र बुझाएका छौँ,’ ती कर्मचारीले भने।
प्रदेशमा सचिव बन्न योग्य रहेका ६ जना एघारौँ तहका अधिकृतमध्येबाटै स्वास्थ्य सचिव नियुक्त गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए।
संघीय कर्मचारीलाई प्रदेशको सचिव बनाएर पठाउने प्रवृत्तिले प्रदेशका कर्मचारीको वृत्ति विकास र अवसरमा असर पर्ने भन्दै कर्मचारीहरूले निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए संघबाट आउने कर्मचारीलाई सहयोग नगर्ने गरी प्रदेशका कर्मचारीहरू एकजुट भएकोसमेत ती कर्मचारीले बताएका छन्।

औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३
