‘तिम्रो साथीले यति राम्रो गरिसक्यो, तिमीले किन गर्न सकेनौ ?’‘हेर त, तिमीभन्दा सानो बच्चाले कति राम्रो गरिरहेको छ।’‘तिम्रो दाइले त यति राम्रो पढ्थ्यो, तिमीचाहिँ...।’बच्चालाई उत्प्रेरित गर्न, अझ राम्रो गर्न लगाउन वा उसको कमजोरी सुधार्न अभिभावकले बोल्ने यस्ता वाक्य सामान्यजस्तै लाग्न सक्छन्। तर बालमनोविज्ञानका दृष्टिले यस्ता निरन्तर तुलना, अत्यधिक अपेक्षा र आलोचनाले बच्चाको आत्मविश्वासमा गहिरो असर पार्न सक्छ।बालबालिकाले बाहिर व्यक्त नगरे पनि अभिभावक र समाजबाट प्राप्त सन्देशलाई भित्रैबाट आत्मसात् गरिरहेका हुन्छन्। बारम्बार तुलना वा आफूलाई अरूभन्दा कम ठान्नुपर्ने वातावरणले बच्चामा ‘म सक्षम छैन’, ‘म पर्याप्त राम्रो छैन’ भन्ने धारणा विकास हुन सक्छ। यही सोच समयसँगै चिन्ता, डिप्रेसन तथा अन्य मानसिक स्वास्थ्य समस्याको आधार बन्न सक्छ ।
आफ्नै बाल्यकालको अनुभवबाट मनोचिकित्सातर्फ
हुन त मेरा लागि मनोचिकित्सा विषय रोज्नु केवल एउटा चिकित्सकीय करियरको निर्णय थिएन । यसको जरा मेरो आफ्नै बाल्यकालसँग जोडिएको छ ।
विद्यालयमा बोल्नुपर्ने अवस्था आउँदा अप्ठ्यारो मान्ने, पछाडि बस्न खोज्ने, आफूलाई कम आत्मविश्वासी ठान्ने र सामाजिक गतिविधिमा सहभागी हुन डराउने गर्थेँ ।
परीक्षा आउँदा चिन्ता यति बढ्थ्यो कि वाकवाकी हुने, लेख्न कठिन हुने र कहिलेकाहीँ परीक्षाको समयमा आफ्नै नामसमेत सम्झन गाह्रो हुने अवस्था हुन्थ्यो । पछि मनोविज्ञान र मनोचिकित्सासम्बन्धी सामग्री खोज्दै जाँदा मानवीय व्यवहार, व्यक्तित्व र चिन्ताका विषय बुझ्न थालेँ । त्यसपछि नै मनोचिकित्सा रुचिको क्षेत्र बन्दै गयो।एमबीबीएस अध्ययनका क्रममा मनोचिकित्सामै एमडी गर्ने इच्छा स्पष्ट राखेँ । वरपरका मानिसले अन्य विधा रोज्न सुझाव दिने गर्थे। तर आफ्नो रुचिमा दृढ रहेर पिजिआईएमइआरबाट मनोचिकित्सामा एमडी पूरा गरेँ । त्यो उपलब्धि जीवनकै ठूलो उपलब्धिमध्ये एक थियो।
‘चिन्ता सबैलाई हुन्छ, त्यसलाई व्यवस्थापन गर्न सिक्नुपर्छ’
बाल्यकालमा भोगेको चिन्ताले नै मलाई अर्को प्रश्नतर्फ डोऱ्यायो—‘मलाई जस्तै अनुभव अरू बच्चाले पनि गरिरहेका होलान् ?’चिन्ता हुनु आफैँमा असामान्य कुरा होइन। जीवनका विभिन्न परिस्थितिमा सबै मानिसले कुनै न कुनै स्तरमा चिन्ता अनुभव गर्न सक्छन्। महत्वपूर्ण कुरा त्यसले दैनिक जीवन, अध्ययन, सम्बन्ध वा कार्यक्षमतामा कति असर गरिरहेको छ भन्ने हो।आफ्नो भावनालाई चिन्नु, त्यसलाई व्यवस्थापन गर्न सिक्नु र आवश्यक परेको अवस्थामा सहयोग लिनु महत्वपूर्ण हुन्छ।
बच्चामा चिन्ता र डिप्रेसन किन बढिरहेको छ ?
मेरो क्लिनिकल अभ्यासमा चिन्ता, डिप्रेसन, व्यक्तित्वसम्बन्धी समस्या, साइकोसिस, सिजोफ्रेनिया तथा एडिक्सनलगायत विभिन्न मानसिक स्वास्थ्य समस्याका बिरामी आउने गरेका छन्।बालबालिकामा भने विद्यालयमा हुने बुलिङ, सामाजिक दबाब र पारिवारिक अपेक्षासँग जोडिएका समस्या पनि देखिने गरेको छ । आजकल सानै उमेरका बालबालिकामा समेत चिन्ता र डिप्रेसनका लक्षण देखिन थालेका छन्। यसको एउटा कारण अभिभावक र समाजको बढ्दो अपेक्षा पनि हुन सक्छ ।
आजको डिजिटल युगमा बच्चाहरूले सामाजिक सञ्जालमार्फत अरू बालबालिकाको उपलब्धि निरन्तर देखिरहेका हुन्छन्। अभिभावकले पनि त्यही उदाहरण आफ्ना बच्चासामु प्रस्तुत गर्ने गर्छन्।‘हेर, तिमीभन्दा सानो बच्चाले यस्तो गरिरहेको छ’, ‘तिम्रो उमेरको बच्चाले यस्तो पब्लिक स्पिकिङ गरिरहेको छ’ जस्ता तुलना बच्चाका लागि सामान्य टिप्पणी मात्र नहुन सक्छन्।बच्चाले बाहिर केही नदेखाए पनि भित्रभित्रै ‘म अरूजस्तो राम्रो छैन’, ‘म केही गर्न सक्दिनँ’ भन्ने धारणा बनाउँदै जान सक्छ ।
चार प्रकारको प्यारेन्टिङ, कुनमा कस्तो सीमा ?
अभिभावकको व्यवहार र बच्चासँगको सम्बन्धले उसको भावनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। प्यारेन्टिङका विभिन्न शैलीमध्ये अथेरिटेटिभ, अथेरिटेरियन, परमिसिभ र नेग्लेक्टफुल शैली उदाहरणका रुपमा लिन सकिन्छ ।
अथेरिटेरियन प्यारेन्टिङमा अभिभावकको निर्णय नै अन्तिम हुने गर्छ। बच्चाले के चाहन्छ वा उसको धारणा के छ भन्नेभन्दा ‘मैले भनेको मान्नुपर्छ’ भन्ने शैली हावी हुन्छ।परमिसिभ प्यारेन्टिङमा भने बच्चाको धेरैजसो माग पूरा गरिन्छ र सीमाहरू स्पष्ट हुँदैनन् ।नेग्लेक्टफुल प्यारेन्टिङमा बच्चाको आवश्यकता, भावना र गतिविधिप्रति पर्याप्त ध्यान दिइँदैन।
यी दुई चरम अवस्थाबीच अथेरिटेटिभ प्यारेन्टिङसीमा र माया दुवै भएको शैलीका रूपमा लिन सकिन्छ । बच्चालाई स्वतन्त्रता दिनु आवश्यक छ । तर त्यससँगै सुरक्षित सीमा पनि आवश्यक हुन्छ।उदाहरणका लागि बच्चा साथीको जन्मदिनमा जान चाहन्छ भने ‘जानै हुँदैन’ भनेर रोक्ने वा ‘जे गरे पनि गर’ भनेर पूर्ण स्वतन्त्र छाड्नेभन्दा उसको उमेर, सुरक्षा र अर्को दिनको जिम्मेवारीलाई ध्यानमा राखेर समय तथा अन्य सीमा तय गर्न सकिन्छ।
‘बच्चालाई साथी होइन, मेन्टर चाहिन्छ’
आजकल केही अभिभावकले आफ्ना बच्चालाई साथीसरह व्यवहार गर्न खोजेको देखिन्छ। बच्चासँग खुला सम्बन्ध हुनु सकारात्मक भए पनि अभिभावकले आफ्नो भूमिका बिर्सन हुँदैन । बच्चालाई साथीभन्दा बढी मार्गदर्शन गर्ने अभिभावक अर्थात् मेन्टर आवश्यक हुन्छ।बच्चाले आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरण हुनुपर्छ। उसले के महसुस गरिरहेको छ भन्ने कुरा सुन्ने र बुझ्ने अभिभावकीय व्यवहार आवश्यक हुन्छ। तर यसको अर्थ बच्चाले मागेको हरेक कुरा पूरा गर्नु भने होइन।
‘हरेक माग पूरा गर्दा रेजिलेन्स कमजोर हुनसक्छ’
अत्यधिक लाडप्यार र बच्चाले मागेको हरेक कुरा पूरा गर्ने व्यवहारले उसमा कठिन परिस्थितिसँग जुध्ने क्षमता अर्थात् रेजिलेन्स कमजोर हुन सक्छ । बच्चाले ‘मैले केही मागेँ भने पूरा हुन्छ’ भन्ने अनुभव निरन्तर पाइरह्यो भने वास्तविक जीवनमा सबै कुरा आफ्नो चाहनाअनुसार नहुँदा निराशा व्यवस्थापन गर्न कठिन हुनसक्छ।जीवनमा असफलता, असहमति र सीमितता पनि हुन्छन्। त्यसैले बच्चालाई उमेरअनुसार ‘नाइँ’ सुन्ने, पर्खने, निराशा सहने र परिस्थितिअनुसार आफूलाई समायोजन गर्ने क्षमता सिकाउन आवश्यक हुन्छ।
अभिभावकको असंगत व्यवहारले पनि समस्या निम्त्याउन सक्छ
परिवारमा एउटै व्यवहारको अभावले पनि बच्चामा अन्योल सिर्जना गर्न सक्छ।उदाहरणका लागि आमाले बच्चाको गल्तीमा सम्झाउँदा बुवाले तुरुन्तै बचाउने वा हजुरबुवा–हजुरआमाले अभिभावकले दिएको सीमालाई उल्ट्याइदिने अवस्था बारम्बार दोहोरियो भने बच्चाले आफ्नो व्यवहारको परिणाम बुझ्न नसक्ने अवस्था आउन सक्छ।अभिभावकबीच मतभेद भए पनि बच्चासामु एउटै विषयमा पूर्ण रूपमा विपरीत सन्देश नदिने र गल्ती भएको अवस्थामा त्यसको उचित परिणामबारे बच्चालाई बुझाउने वातावरण आवश्यक हुन्छ ।
बच्चाको आक्रोश कहाँबाट आउँछ ?
आजकल किशोर तथा युवा उमेरतिर पुग्दै गरेका केही बालबालिकामा अभिभावकप्रति अत्यधिक झर्किने, रिसाउने वा आक्रामक व्यवहार देखिने गरेको पाइन्छ । यसका पछाडि पारिवारिक वातावरण, अभिभावकीय शैली र बच्चाले घरमा देखिरहेको व्यवहारको प्रभाव हुन सक्छ।बच्चाले अभिभावकलाई हेरेर धेरै कुरा सिक्छ। घरमा निरन्तर झगडा, आक्रोश वा अस्वस्थ प्रतिक्रिया देखिरहेको छ भने बच्चाले पनि त्यही व्यवहारलाई सामाजिक रूपमा सिक्न सक्छ।
तुलना होइन, बच्चाको क्षमता पहिचान
हरेक बच्चाको क्षमता, रुचि, सिक्ने गति र व्यक्तित्व फरक हुन्छ । त्यसैले एउटा बच्चाको उपलब्धिलाई अर्को बच्चाको मापन गर्ने आधार बनाउनुको सट्टा आफ्नै बच्चाको क्षमता पहिचान गर्नुपर्छ । बच्चालाई ‘अरूभन्दा राम्रो’ बन्न दबाब दिनुभन्दा ‘हिजोभन्दा आज केही राम्रो गर्न सक्ने’ वातावरण बनाउनु बढी महत्वपूर्ण हुन्छ।
बच्चाको मानसिक स्वास्थ्यका लागि अभिभावकले के गर्ने ?
- बच्चाका लागि सुरक्षित र स्पष्ट सीमा बनाउने।
- सीमासँगै माया, आत्मीयता र हेरचाह दिने।
- बच्चाको भावना सुन्ने र त्यसलाई स्वीकार गर्ने।
- अरू बच्चासँग निरन्तर तुलना नगर्ने।
- गल्ती हुँदा अपमान गर्नेभन्दा त्यसको परिणाम बुझाउने।
- बच्चाले उमेरअनुसार ‘नाइँ’ र निराशालाई पनि स्वीकार गर्न सिक्ने वातावरण बनाउने ।
- अभिभावकबीच बच्चासामु सकेसम्म सुसंगत व्यवहार कायम गर्ने।
- सामाजिक सञ्जालमा देखिने अरू बच्चाको उपलब्धिलाई आफ्नै बच्चाको मापदण्ड नबनाउने।
- बच्चालाई आफ्नो कुरा व्यक्त गर्न सुरक्षित वातावरण दिने।
- मानसिक स्वास्थ्यसम्बन्धी समस्या लामो समयसम्म देखिएमा आवश्यक व्यावसायिक सहयोग लिन ढिला नगर्ने।
बच्चालाई ‘ठीक’ बनाउने होइन, बुझ्ने प्रयास
बालबालिकाको व्यवहारलाई केवल ‘जिद्दी’, ‘अटेरी’, ‘अल्छी’ वा ‘कमजोर’ भनेर बुझ्नु सजिलो हुन्छ। तर त्यही व्यवहारभित्र डर, असुरक्षा, दबाब, अस्वीकृतिको भावना वा आफू पर्याप्त नभएको अनुभूति लुकेको हुनसक्छ।त्यसैले माया र सीमाबीचको सन्तुलन, तुलना होइन स्वीकार्यता, र नियन्त्रण होइन सही मार्गदर्शन—स्वस्थ अभिभावकत्वको आधार यही हुनसक्छ।
