
भारतको राजधानी दिल्लीमा बच्चा अपहरण गरेको शङ्का गर्दै मानिसहरूले एउटी गर्भवती महिलामाथि कुटपिट गरेका छन्।बीबीसीलाई प्रहरीले बताएअनुसार कुटपिट गरिएकी ती २५ वर्षीया महिलाको अवस्था स्थिर अहिले स्थिर छ। कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। बालबालिका अपहरण गरिएको हल्लाका आधारमा दिल्ली र त्यस वरपरका राज्यहरूमा यस्ता घटना पहिले पनि हुने गरेका थिए। गत वर्ष पनि बालबालिका अपहरणको यस्तै हल्लाका कारण भौतिक आक्रमण गरिँदा केही व्यक्तिको मृत्यु भएको थियो।
भिडिओमा के देखिन्छ? दिल्लीमा भएको घटनाको भिडिओ फुटेजमा ती महिलालाई भिडले घेरेको देखिन्छ। मानिसहरूले उनलाई बच्चा अपहरणको आरोप लगाउँदै ती महिलालाई कुटेको देखिन्छ। यस्ता आक्रमणका घटना प्राय: उत्तर प्रदेशमा दर्ता भएका छन्। उत्तर प्रदेश दिल्लीसँग जोडिएको राज्य हो। "अगस्ट २९ सम्ममा कम्तीमा ४६ वटा यस्ता उजुरी दर्ता भएका छन्। ती सबै घटनामा हामीले बालबालिका अपहरणको कुनै पनि प्रमाण भेटेनौँ," प्रहरी महानिरीक्षक ओपी सिंहले बीबीसीसँग भने। "हामी मानिसहरूलाई त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्छौँ। यदि तपाईंलाई शङ्का लागेमा प्रहरीलाई आकस्मिक नम्बरमा कल गर्नुहोस् वा सामाजिक सञ्जालमार्फत् उजुरी गर्नुहोस्।"

