नेभिगेशन

स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुखविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

नेपाल हेल्थ न्युज, काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र विभिन्न पद तथा श्रेणीमा बढुवा भएको आरोपमा सुमन प्रसाद तिवारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले उक्त जानकारी अनुसार क्रममा तिवारीले खोप सुपरभाइजर (राजपत्र अनंकित प्रथम श्रेणी) पदमा नियुक्ति लिन भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना बाट जारी भएको भनिएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ।

उक्त प्रमाणपत्रकै आधारमा उनले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुन पटक–पटक सोही प्रमाणपत्र पेस गरेको र राष्ट्रसेवकका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

आयोगले तिवारीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरेको हो।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट