नेभिगेशन

संवेदनशील अङ्गमा दुर्व्यवहारको आरोप लागेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

नेपाल हेल्थ न्युज, बाँके । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी २२ वर्षीया युवतीको संवेदनशील अङ्गमा हात हालेको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ पर्नुभएको छ।

६३ वर्षीय थापामाथि जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कोहलपुर–११ रेडक्रस रोडस्थित क्लिनिकमा गत असोज १७ गते स्वास्थ्य परीक्षणका क्रममा यौनजन्य दुर्व्यवहार भएको भन्दै पीडित पक्षले असोज १८ गते किटानी जाहेरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतित सिंह राठौरका अनुसार जाहेरी, सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ तथा अन्य प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ।

आरोपित थापाले भने आरोप अस्वीकार गर्दै बिरामीकै आग्रहमा स्वास्थ्य परीक्षण गरेको र आफ्नो कुनै खराब नियत नरहेको दाबी गर्नुभएको छ।

घटनापछि क्लिनिकमा थापामाथि हातपातसमेत भएको थियो। प्रहरीले घटनासँग सम्बन्धित दुवै पक्षको बयान तथा प्रमाण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट