नेभिगेशन

युरोलोजी फेलोसिप विवादमा डा. भरतबहादुर भण्डारीः के नेपाल मेडिकल काउन्सिलले बिवाद टुंगो लगाउन सक्ला ?

नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता नम्बर २२३० भएका डा. भण्डारी भन्नुहुन्छ— ‘म प्रोफेसर अफ युरोलोजी हुँ, मेरोअन्तर्गत युरोलोजीका एमसिएच विद्यार्थी पढिरहेका छन्’

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली सेनाका प्राविधिक उपरथी तथा वरिष्ठ युरोलोजिस्ट प्रा. डा. भरतबहादुर भण्डारीको युरोलोजीसम्बन्धी फेलोसिपलाई लिएर केही समययता अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् । विशेषगरी उहाँले  युरोलोजीमा गरेको भनिएको फेलोसिप र त्यससम्बन्धी प्रमाणपत्रलाई लिएर विभिन्न दाबी सार्वजनिक भएका छन् ।

नेपाल मेडिकल काउन्सिलमा भने उहाँ जनरल सर्जनका रुपमा दर्ता हुनुभएको छ । जनरल सर्जनले पेट, आन्द्रा, स्तन, छाला तथा शरीरका अन्य विभिन्न तन्तुमा देखिने विभिन्न रोग तथा समस्याको शल्यक्रियामार्फत उपचार गर्छन् । नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा विशेषज्ञ दर्तामा सूचीकृत चिकित्सकले मात्रै विशेषज्ञको उपाधि प्रयोग गर्न पाउने र चिकित्सकले आफ्नो विशेषज्ञताको दायराभन्दा बाहिर अभ्यास गर्न नहुने व्यवस्था उल्लेख छ । काउसिन्सलले एक वर्षको फेलोसिपलाई मात्र मान्यता दिँदै आएको छ । 


यही विषयमा डा. भण्डारीसँग प्रत्यक्ष कुराकानी गर्दा उहाँले आरोपलाई आफूले नयाँ विषयका रूपमा नलिएको संकेत गर्दै आफूसँग अल इन्डिया मेडिकल साइन्सेस (एम्स) नयाँदिल्लीबाट प्राप्त प्रमाणपत्र रहेको बताउनुभएको छ । तर प्रमाणपत्र फोनबाटै देखाउने वा त्यसको विस्तृत विवरण तत्काल सार्वजनिक गर्नेभन्दा नेपाली सेनाको संस्थागत प्रक्रियामार्फत सम्बन्धित विषयको जाँच गर्न आग्रह गर्नुभयो ।
उहाँको भनाइमा आफूले एम्स गएर युरोलोजीसम्बन्धी प्रशिक्षण÷फेलोसिप प्राप्त गरेको र त्यसको प्रमाणपत्र आफूसँग सुरक्षित छ ।
यद्यपि फेलोसिप कति अवधिको थियो, त्यसको स्वरूप के थियो र प्रमाणपत्रमा ठ्याक्कै कुन योग्यता  उल्लेख छ भन्ने विस्तृत विवरण भने उहाँले खुलाउन चाहनुभएन ।


‘फोनमा कुरा नगर्नुस्, भेटेर कुरा गर्नुस्’
फेलोसिपको अवधि र प्रमाणपत्रका विषयमा थप प्रश्न गर्दा डा. भण्डारीले यो विषय फोनमा छलफल गर्न उपयुक्त नहुने बताउनुभयो । उहाँले आफू नेपाली सेनामा कार्यरत रहेको उल्लेख गर्दै प्रश्न उठेमा सम्बन्धित संस्थागत संयन्त्रबाट त्यसको जवाफ दिन सकिने संकेत गर्नुभयो ।


‘मेरो आर्मीले सेफगार्ड गर्छ’
फेलोसिपसम्बन्धी विवादबारे कुरा गर्दा डा. भण्डारीले आफू नेपाली सेनाको सेवामा रहेको र आफ्नो व्यावसायिक विषयमा संस्थागत रूपमा जवाफ आउने बताउनुभयो  उहाँले कुराकानीमा ‘त्यो कुरा मलाई मेरो आर्मीले सेफगार्ड गर्छ’ भन्नुभएको थियो । यसलाई उहाँले व्यक्तिगत रूपमा सञ्चारमाध्यमसँग बहस गर्नेभन्दा सम्बन्धित संस्थागत प्रक्रियामार्फत विषय टुंग्याउने आफ्नो धारणा रहेको रूपमा प्रस्तुत गर्नुभएको देखिन्छ ।

तर ‘सेफगार्ड’ भन्नाले कानुनी रूपमा कुनै आरोप स्वतः गलत ठहर हुने भन्ने अर्थ लाग्दैन । कुनै योग्यता वा सर्टिफिकेटको प्रामाणिकता पुष्टि गर्ने अन्तिम आधार सम्बन्धित शैक्षिक संस्था, नियामक निकाय वा आधिकारिक प्रमाणीकरण नै हुन्छ ।


‘म प्रोफेसर अफ युरोलोजी हुँ’
फेलोसिपमाथि प्रश्न उठेको सन्दर्भमा डा. भण्डारीले आफ्नो हालको शैक्षिक तथा व्यावसायिक भूमिकालाई पनि जोड दिनुभयो । उहाँले आफू इन्स्टिच्युट अफ अफ मेडिसिन (आईओएम) मा प्रोफेसर अफ युरोलोजी रहेको र आफ्नो मातहतमा युरोलोजीका एमसिएच विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
यस भनाइले उहाँ आफ्नो हालको शैक्षिक भूमिकालाई पनि आफ्नो विशेषज्ञताको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिरहनुभएको देखिन्छ । तर उहाँको यो शैक्षिक पद, एमसिएच विद्यार्थीको सुपरिवेक्षण तथा फेलोसिपको प्रमाणिकता—यी तीनवटै विषय अलग–अलग रूपमा पुष्टि गर्नुपर्ने विषय हुन् ।

‘मेरो प्रोमोसनको बेला मान्छेहरू लागेको हो’
आफूमाथि उठेको प्रश्नलाई डा. भण्डारीले आफ्नो पदोन्नतिको सन्दर्भसँग पनि जोड्नुभयो । उहाँले कुराकानीमा ‘यसमा अलि लाग्ने लाग्छन्, मेरो प्रमोसनको बेला मान्छेहरू लागेको हो’ भन्नुभयो । यसबाट उहाँको बुझाइमा पछिल्लो विवाद आफ्नो पदोन्नतिको समयसँग सम्बन्धित हुन सक्ने देखिन्छ । तर यो उहाँको व्यक्तिगत धारणा हो । कसले, किन वा कुन उद्देश्यले आरोप उठायो भन्ने स्वतन्त्र प्रमाणबिना त्यसलाई तथ्यका रूपमा स्थापित गर्न मिल्दैन ।


‘नियम र ऐनले प्राक्टिस नगर भने पनि मलाई हर्ट छैन’

कुराकानीका क्रममा नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले भविष्यमा विशेषज्ञ चिकित्सकको अभ्याससम्बन्धी नयाँ नियम वा कानुनी व्यवस्था ल्याउन सक्ने विषय पनि उठाइएको थियो । त्यसमा डा. भण्डारीले आफू नियम र कानुन पालना गर्न तयार रहेको संकेत गर्नुभयो ।

उहाँले भावार्थमा भोलि नयाँ नियम वा ऐनले आफूलाई  प्राक्टिस गर्न नदिए पनि त्यसबाट आफूलाई व्यक्तिगत रूपमा समस्या नहुने बताउनुभयो । नेपाली सेनाबाट अवकाशपछिको पेन्सन आउने भएकाले त्यसमा आफूलाई आपत्ति नहुने उहाँको भनाइ थियो ।


यो भनाइलाई उहाँको व्यक्तिगत प्रतिक्रियाका रूपमा मात्र बुझ्नुपर्छ । यसबाट हालको एनएमसी नियम, उहाँको विशेषज्ञ दर्ता वा प्राक्टिस स्टाटससम्बन्धी कुनै कानुनी निष्कर्ष निकाल्न मिल्दैन ।

एनएमसी दर्ता नम्बर २२३० पनि महत्वपूर्ण अभिलेख

डा. भण्डारीको विषयमा अर्को महत्वपूर्ण तथ्य उहाँको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२३० हो । एनएमसीमा चिकित्सकको दर्ता हुनु र कुनै निश्चित विशेषज्ञ योग्यता वा फेलोसिपको  प्रमाणिकरण हुनु भने फरक विषय हुन् ।

त्यसैले अहिलेको विवादमा निम्न प्रश्न छुट्टाछुट्टै हेर्नुपर्ने हुन्छ—

  • चिकित्सकका रूपमा दर्ता एनएमसी रजिष्ट्रेसन नम्बर २२३०    
  • विशेषज्ञ दर्ता एनएमसीको स्पेशलिष्ट रजिष्ट्रेसन अभिलेख
  • आधारभूत÷स्नातकोत्तर योग्यता    सम्बन्धित विश्वविद्यालय तथा एनएमसी अभिलेख
  • एम्स फेलोसिप एम्स वा सम्बन्धित आधिकारिक अभिलेख
  • हालको शैक्षिक पद आईओएम/ सम्बन्धित संस्थाको आधिकारिक अभिलेख
  • आधिकारिक अनुसन्धान एनएमसी, सिआईबी    /अख्तियार वा अदालतको निर्णय/अभिलेख

यसकारण एनएमसी रजिष्ट्रेसन नम्बर २२३० हुनु महत्वपूर्ण भए पनि त्यसले मात्रै एम्स फेलोसिपको प्रमाणिकता पुष्टि गर्दैन ।


सार्वजनिक अभिलेखमा पनि युरोलोजीसम्बन्धी लामो संलग्नता
डा. भण्डारीको नाम युरोलोजीसम्बन्धी चिकित्सकीय अभ्यास र अनुसन्धानमा लामो समयदेखि देखिन्छ । उहाँको सार्वजनिक चिकित्सकीय प्रोफाइलमा  एमबीबीएस, एमएस जनरल जर्सरी तथा एम्स नयाँ दिल्लीबाट युरोलोजी फेलोसिप गरेको उल्लेख छ । सोही प्रोफाइलमा उहाँलाई कन्सल्यान्ट युरोलोजिष्टका रूपमा प्रस्तुत गरिएको छ । सन् २०१६ मा काठमाडौंको नर्भिक अस्पतालमा होल्मियम लेजर टेक्नोलोजी  प्रयोग गरी प्रोस्टेटको शल्यक्रिया गरिएको समाचारमा उहाँलाई कन्सल्यान्ट युरोलोजिष्टका रूपमा उल्लेख गरिएको थियो । डा. भण्डारीको आफ्नै भनाइअनुसार उहाँसँग उक्त प्रमाणपत्र छ । तर पत्रकारिताको दृष्टिले ‘प्रमाणपत्र मसँग छ’ भन्ने व्यक्तिको भनाइ र सम्बन्धित संस्थाले प्रमाणपत्र प्रमाणित गरेको अवस्था एउटै कुरा होइन । विवादको अन्तिम समाधान आरोप–प्रत्यारोपबाट होइन, सम्बन्धित संस्थाको आधिकारिक प्रमाणीकरणबाट हुनेछ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष