नेभिगेशन

सिओपिडीका बिरामी कुन प्रदेशमा कति ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर दिर्घकालिन श्वासप्रश्वास सम्बन्धि रोग सिओपीडी (दम)बाट २५ करोड भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनको ग्लोवल बर्डेन डिजिज २०१६ को प्रतिवेदन अनुसार विश्वभर प्रत्यक वर्ष ३१ लाख मानिसको मृत्यु सिओपिडीबाट हुने गरेको छ । यो कुल मृत्युदरको ६ प्रतिशत हो । हाल विश्वमा सिओपिडी अकाल मृत्युको चौथो कारण बनेको विज्ञहरु बताउँछन् । कम विकसित र अति कम विकसित मुलुकहरुमा ९० प्रतिशत मृत्यु सिओपिडी कारण हुने चिकित्सकहरुको भनाइ छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा करिब १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको दीर्घरोग सिओपिडी भएको पाइएको छ । परिषद्ले जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा गरेको देशव्यापी अध्ययनले सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा रहेको देखाएको हो । देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो । सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयको अध्ययनका लागि परिषद्ले १३ हजार २ सय जनामा यो अनुसन्धान गरेको थियो । परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने सात वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा चार वटा रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा त्यसपछि मधुमेहको ८ दशमलव ५, मिर्गौला सम्बन्धी रोग ६ प्रतिशतमा र मुटुरोग २ दशमलव ९ प्रतिशतमा रहेको पाइएको छ। अनुसन्धानमा श्वासप्रश्वास सम्बन्धी रोग सिओपिडीको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५ दशमलव १ प्रतिशत भेटिएको छ। सिओपिडीका बिरामी कुन प्रदेशमा कति प्रतिशत? ( कर्णाली प्रदेश– २५.१ प्रतिशत (प्रत्येक ४ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( प्रदेश न २– १६.४ प्रतिशत (प्रत्येक ६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( सुदूरपश्चिम प्रदेश– १४.३ प्रतिशत (प्रत्येक ७ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( प्रदेश न ३ ( ११.७ प्रतिशत (प्रत्येक ९ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( प्रदेश न ५ ( ९.५ प्रतिशत (प्रत्येक १० मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( प्रदेश न १ ( ६.२ प्रतिशत (प्रत्येक १६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) ( गण्डकी प्रदेश– ६ प्रतिशत (प्रत्येक १६ मध्ये १ जनालाई सिओपिडी दम रोग छ) नेपालमा प्रत्येक दस जनामा एक जनालाई सिओपिडी दम रोग छ । नसर्ने रोगहरूमध्ये सिओपिडी नेपालमा सबभन्दा बढी पाइएको रोग हो। नेपालमा प्रत्येक तीन जनामध्ये एक जना हाल र विगतमा धूमपान गर्छन् र गर्थे । नेपाल विश्वको पाँचौ वायु प्रदूषण भएको देश मानिन्छ । वर्षेनी १० हजार नेपालीले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् । के हो सिओपिडी ? सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको श्वासनली साँघुरिने दीर्घकालिन रोग हो । सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदुषण, घरको धुवा, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले आदीले पनि दम रोग गराउने बीर अस्पतालका चेष्ट युनिट प्रमूख तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गना बताउनुहुन्छ । नेपालमा हाल झण्डै ३४ लाख जति दमका बिरामीहरु भएको अनुमान गरिएको छ । ति मध्ये एकलाख बिरामीमात्र इन्हेलर उपचार पद्धतीमा आवद्ध छन् । इन्हेलर उपचार पद्धतीबारे आम जनमानसमा नकारत्मक धारण भएकाले कम बिरामीहरु यस उपचारमा संलग्न भएको डा. ढुङ्गना बताउनुहुन्छ । यो नेपालको कुल दम रोगीको ३ प्रतिशत हो । इन्हेलर भनेको त अन्तिम स्टेजमा प्रयोग गरिने औषधि हो, यसलाइ सकेसम्म लिनुहुँदैन, बानी बस्छ भन्ने जस्ता अन्धविश्वासले गर्दा सिओपीडी दमका रोगीले सही उपचार नपाएको उहाँको भनाइ छ । जनचेतनाको अभाव र समयमै उपचार नपाउदा दम रोगले झनै विकराल रुप लिदै गइरहेको बताउनुभयो । इन्हेलर उपचार पद्धती दम रोगको सबैभन्दा प्रभावकारी उपचार पद्धती मानिन्छ । इन्हेलरको मद्धतबाट औषधिलाई सिधै फोक्सोसम्म पुर्याइन्छ । यसको कुनै साइड इफेक्ट हुँदैन । लक्षण -श्वास प्रश्वासमा समस्या (स्वाँस्वाँ हुने) -खोकीलाग्ने ( सेतो वा पहेलो खकार आउने) अन्य लक्षण -छाती घ्यार(घ्यार कराउने -औंला वा जिब्रो निलो हुने -दुवै खुट्टा सुन्निने -पटकपटक छातीको संक्रमण हुने उपचार पद्धति -नियमित इन्हेलर प्रयोग -नियमित चिकित्सकसँग जाँच -जोखिम कम गर्ने ( धूमपान, वायु प्रदूषण, पेसागत जोखिम आदि ) -अन्य रोगको निदान र उपचार -स्वस्थकर बानी ( नियमित व्यायाम स्वस्थकर आहार) सिओपिडीबारे केही भ्रम र यथार्थ भ्रम -सिओपिडी दम धेरै मानिसलाई हुँदैन । -सिओपिडी दम धूमपान गर्नेलाई मात्र हुन्छ । -उमेर बढ्दै गएपछि स्वाँस्वाँ हुनु सामान्य हो । -सिओपिडी दमको पूर्ण उपचार सम्भव छैन । -सिओपिडी भइसकेपछि धूमपान त्याग्नुको कुनै मतलब छैन । -इन्हेलर औषधि नराम्रो हो वा सुरु गरेमा बानी पर्छ। यथार्थ -नेपालमा प्रत्येक दश जनामा एक जनालाई सिओपिडी दम रोग छ। -सिओपिडी दम धूमपान गर्नेमा धेरै भए तापनि वायु प्रदूषण र पेसागत जोखिमबाट पनि हुन सक्छ। -स्वाँस्वाँ हुनु सिओपिडी दमको लक्षण हो र उपचार गरेमा पूर्ण निको हुन्छ । -सही उपचार पद्धति अपनाएमा सिओपिडी भएका बिरामीले आम मानिसझैँ सामान्य जीवन व्यतित गर्न सक्छन्। -सिओपिडी भएका वा नभएका जोसुकैले धूमपान त्यागेमा मृत्युबाट बच्न सकिन्छ। -सिओपिडी उच्च रक्तचाप र मधुमेह जस्तै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैं प्रयोग गर्नुपर्ने हुनसक्छ । चुनौती -सिओपिडी दम रोग सम्बन्धी जनचेतनाको कमी । -धूमपान विरुद्धको जनचेतनाको कमी । -ग्रामीण इलाकामा चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग । -बढ्दो सहरीकरण( वायु प्रदूषण र पेसागत जोखिम । -भौगोलिक विकटता र गरिबी भएका स्थानमा यस रोगको बढी प्रभाव देखिनु । --इन्हेलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा । -सिओपिडीको निदान र उपचार पद्धतिका विधिहरू प्राथमिक उपचार गर्ने संस्थाहरूमा नहुनु । -स्पाइरोमेट्री तथा सो सम्बन्धी तालिम भएका जनशक्तिको कमी । -आसपासमा चेस्ट हस्पिटलको अभाव रेफरल सिस्टमको विकास हुन नसक्नु । -महँगो उपचार पद्धति( अधिकांश रोगी स्वास्थ्य बिमाको पहुँचबाट बन्चित ) इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार दम, मुटु, मिर्गौला र मधुमेह रोगबारे सचेतना जगाउनकै लागि चालु आर्थिक वर्षमा मात्र ८ करोड रुपैयाँ विनियोजन भएको छ ।सरकारले यी रोगबारे सचेतना कार्यक्रमका लागि प्रत्येक प्रदेशमा १ करोड र केन्दमा ९४ लाख रुपैयाँ छुट्याएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ५१ वटा जिल्लाहरुमा दमको रोगको विषयमा सचेतनाको कार्यक्रम पुर्याएको जनाएको छ ।  ‘सबै मिलि दीर्घ श्वासप्रश्वास रोग अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आज (बुधबार) विश्वभरनै विश्व सिओपिडी दिवस मनाइएको छ । यसै अवसरमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा ट्रमा सेन्टरमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट