नेभिगेशन

डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहित टोली धनगढी पुग्यो

नेपाल हेल्थ न्युज, काठमाडौं । डा. गोविन्द केसीसँग वार्ता गरी जारी सत्याग्रहको सहमतिपूर्ण निकास खोज्ने उद्देश्यले सरकारले थप दुई उच्च अधिकारीलाई धनगढी पठाएको छ।

प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगिसकेका छन्।

शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि वार्तामार्फत अनशनको निकास निकाल्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको सरकारी स्रोतले जनाएको छ।

धनगढी पुगेको सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत डा. केसीका मागहरूमा सहमति जुटाई अनशन अन्त्य गराउने प्रयास गरिरहेको जनाएको छ।

यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहअनुसार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूको निगरानीमा रहँदै उनले आफ्नो सत्याग्रहलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट