नेभिगेशन

आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ।

शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड, अनुमति प्रक्रिया तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको थियो।

छलफलमा आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने र दीर्घकालीन रूपमा यस सेवालाई स्पष्ट कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर तथा नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन्। उनले आईभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित, गुणस्तरीय र जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन्।

बैठकमा हाल सञ्चालनमा रहेका आईभीएफ सेवाका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली तथा अनुमति प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रजनन स्वास्थ्यका विज्ञ डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा. बिनिता थापाको सहभागिता रहेको थियो। मन्त्रालयले सुरक्षित र जिम्मेवार प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत तयारीलाई निरन्तर अघि बढाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट