नेभिगेशन

के हो छारेरोग ? कारण, लक्षण, उपचार र अपनाउनुपर्ने सावधानी

जनस्वास्थ्य सरोकार, काठमाडौँ । छारेरोग एक विशेष प्रकारको मस्तिष्क सम्बन्धि समस्या हो । जहाँ मस्तिष्कको कुनै एक भाग वा पुरै मस्तिष्क अत्याधिक उत्तेजित भई मानिसमा अनौठो ब्यवहार देखा पर्ने, अजिव महशुस हुने वा मानिस बेहोस हुने गर्दछ । यो रोग सबै जाती, धर्म सम्प्रदायका मानिसहरुलाई लाग्न सक्छ । लक्षण एकछिन अलमलिनु, केहिबेर टोलाउनु, हातखुट्टा कडा भई काँप्नु, पटक पटक बेहोस हुनु र डर वा चिन्ताको अनुभुति हुनु आदि छारे रोगका लक्षणहरु हुन् । कारण करिब ४० देखि ५० प्रतिशत छारेरोगका बिरामीहरुमा मात्र मस्तिष्कमा खराबी भएको कारण छारेरोग हुने गर्दछ । यसका अलावा जेनेटिक प्रभाव, टाउकोमा चोटपटक लाग्नु, मस्तिष्कघात, बे्रन ट्युमर, मस्तिष्क ज्वरो, टाउकोमा जुकाको अण्डा आदि छारे रोगका मुख्य कारणहरु हुन् । दुष्परिणाम -छारेव्यथाले दुर्घटना हुने -पानीमा डुब्ने -चोटपटक लाग्ने -गर्भवती महिलामा छारेरोग वा छारेरोगमा प्रयोग हुने औषधिले गर्भमा भएको बच्चालाई दुष्प्रभाव पर्ने, -मनस्थितीको समस्या जस्तै एन्जाइटी, डिप्रेसन, व्यवहारमा परिवर्तन, आत्महत्याको सोचाइ आउने, -छारोगको उचित नभएमा छारेव्यथा पटक पटक दोहोरिने कोहि बिरामीको अचानक मृत्युपनि हुन सक्छ । छारेरोग पत्ता लगाउने तरिका लक्षणको विश्लेषण, बिरामीको जाँच, छारेव्यथाले च्यापेको बेला खिचिएको भिडियो, रगत परिक्षण, टाउकोको इइजी, टाउकोको सिटी वा एमआरआई आदिले छारे रोग लागेको हो÷होइन, छारेरोग कुन प्रकारको हो वा के कारणले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ । उपचार प्रायजसो बिरामीलाई औषधि उपचारले मात्र पनि यो रोग निको पार्न सकिन्छ । केहि बिरामीलाई मात्र शल्यक्रिया वा अन्य उपचार आवश्यक पर्न सक्छ । बिरामीले छारेरोगको औषधि नियमित र सहि मात्रामा प्रयोग गर्नुपर्दछ । औषधि छुटाउनुहुँदैन । धुम्रपान, मद्यपान र मानसिक तनावबाट बच्नुपर्छ । सुझाव बिरामीले नियमित शारीरिक व्यायाम गर्नुपर्छ । बिरामी आफै वा घरपरिवारका सदस्यहरुले यस रोगबारे सबै जानकारी प्राप्त गरेको हुनुपर्छ । छारोरोगका बिरामीहरु आगो, गहिरो पानी र सवारीसाधनबाट टाढा बस्नुपर्दछ । छारेव्यथा लागेको बेला देख्ने मानिसले नआत्तिकन बिरामीलाई सहयोग पुर्याउनुपर्छ । बिरामीको टाउको मुनि केहि कोमल वस्तु वा कपडा राख्नुपर्दछ । वरिवरि घातक वस्तु, हातहतियार छ भने त्यसलाई हटाउनुपर्छ । घाँटी वरिपरि कस्सिने खालका कपडा छ भने त्यसलाई हटाउने वा खुकुलो पार्नुपर्छ । छारेव्यथा पाँच मिनेट भन्दा लम्बिएमा वा बिरामी १० मिनेट सम्म पनि बेहोस भइराखेमा तुरुन्त बिरामीलाई अस्पताल पुर्याउनुपर्छ । छारेब्याथाले च्यापेको बिरामीलाई के गर्नुहुँदैन ? छारेव्यथाले काँपीरहेको बिरामीलाई च्याप्प समाइ रोक्ने प्रयास गर्नुहुँदैन । औँला वा चम्चाले बिरामीका बाँधिएका दाँत खोल्ने प्रयास गर्नुहुँदैन । गँन्हाउने बस्तु जस्तै, जुत्ता ,मोजा वा प्याज सुँघाउनु हुँदैन । नाक मुख थुन्नुहुँदैन । बिरामीको अनुहार वा मुखमा पानी खन्याउनुहुँदैन । भ्रम छारेरोग देवीदेवता भुतप्रेतको असर हो, यो एउटा बुढा रोग हो, अरु मानिसमा सर्ने सरुवा रोग हो आदि यस रोग सम्बन्धि सामाजिक भ्रमहरु भएको पाइन्छ । त्यसकारण यस्ता बिरामी पुजापाठ झारफुक तर्फ लाग्ने गर्छन् । उनीहरु समयमा उपचार गराउँदैनन् । थुनेर राखिन्छ कतिपय बिरामी परिवारबाटै अपहेलित भएको अवस्थामा भेटिन्छन् । (उप प्रा. डा. रागेश कर्ण वरिष्ठ नशारोग विशेषज्ञ हुनुहुन्छ । )
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्