नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिन थालिएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आयोजनामा स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि तीन दिनको ‘एडभान्स प्रोक्युरमेन्ट ट्रेनिङ’ प्रदान गरिएको छ । सुनौलो परिवार नेपाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को आर्थिक तथा प्राविधिक सहयोगमा असोज १६, १७ र १८ गते काठमाडौंमा आयोजित तालिममा स्वास्थ्य क्षेत्रको खरिद प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएका कर्मचारी सहभागी भए ।

तालिममा खरिद प्रक्रिया सुरु भएदेखि सामग्री प्राप्तिसम्मका विभिन्न चरण, आवश्यक कागजात तथा प्रक्रियागत पक्ष, बोलपत्र (बिडिङ) स्वास्थ्य सामग्रीको गुणस्तर निर्धारण, स्पेसिफिकेसन निर्माण तथा आपूर्तिकर्तासँगको समन्वयलगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
स्वास्थ्य क्षेत्रमा हुने खरिदलाई नियम, कानुन र पारदर्शिताको मापदण्डभित्र रहेर प्रभावकारी बनाउन तालिम केन्द्रित छ । प्रोक्युरमेन्ट प्रक्रियाको सुरुआत्देखि आवश्यक पर्ने विभिन्न दस्तावेज, बिडिङ, सामानको गुणस्तर र सप्लायरसँग कसरी डिल गर्ने भन्ने विषय तालिममा समेटिएको छ ।
सातै प्रदेशका खरिदमा संलग्न कर्मचारी सहभागी
तालिममा स्वास्थ्य सेवा विभागका कर्मचारीसहित सातै प्रदेशबाट खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न कर्मचारी सहभागी थिए । प्रत्येक प्रदेशबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका दुई जना र प्रदेश स्वास्थ्य निर्देशनालयका एक जना गरी तीन जना सहभागी भए । यसरी सात प्रदेशबाट मात्रै २१ जना र विभागका कर्मचारीसहित तालिममा करिब ३५ जना सहभागी रहेका थिए ।

तालिममा सहभागी छनोट गर्दा नै खरिद प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएका कर्मचारीलाई प्राथमिकता दिइएको थियो । अहिले जनता पनि स्वास्थ्य सेवाका विषयमा सचेत छन् । हरेक विषयमा प्रश्न उठ्न सक्छ । त्यसैले पारदर्शी रूपमा काम गर्दा आउन सक्ने समस्या र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सम्बन्धित व्यक्तिहरुले प्रशिक्षण लिइरहेको व्यवस्थापन महाशाखाका निर्देशक डा. बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
खरिदमा पारदर्शिता मात्रै होइन, गुणस्तर पनि
स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता कायम गर्नु जति महत्वपूर्ण छ खरिद गरिने औषधि तथा उपकरणको गुणस्तर सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक पर्छ । विशेषगरी औषधि खरिद गर्दा सम्बन्धित नियामक निकायले तोकेको मापदण्ड पूरा गरेका उत्पादक तथा औषधि कम्पनीबाट गुणस्तरीय औषधि खरिद गर्नुपर्नेमा तालिममा जोड दिइएको छ ।
औषधिको गुणस्तर सुनिश्चित गर्ने सन्दर्भमा डब्लुएचओ जिएमपी (विश्व स्वास्थ्य संगठन कुशल अभ्यास) लगायतका गुणस्तरसम्बन्धी मापदण्ड र प्रमाणपत्रको विषय पनि तालिममा समेटिएको छ । त्यस्तै स्वास्थ्य सामग्री खरिदका लागि तयार गरिने स्पेसिफिकेसनले पनि सामग्रीको गुणस्तर निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

बजारमा उपलब्ध सामग्रीमध्ये गुणस्तरीय सामग्री पहिचान गरेर त्यसअनुसार स्पेसिफिकेसन कसरी तयार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । स्वास्थ्य सामग्रीको स्पेसिफिकेसन निर्माण गर्दा एउटै क्षेत्रको मात्र ज्ञान पर्याप्त हुँदैन । त्यसका लागि इन्जिनियर, फार्मेसी पृष्ठभूमिका जनशक्ति, चिकित्सक तथा सम्बन्धित प्राविधिक जनशक्तिबीच समन्वय आवश्यक पर्छ ।
‘सरकारी औषधि गुणस्तरीय हुँदैन’ भन्ने भ्रम हटाउनुपर्ने
सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य सामग्रीको गुणस्तरबारे आमनागरिकमा रहेको भ्रम हटाउनुपर्नेमा पनि तालिमले जोड दिएको छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने औषधि वा अन्य स्वास्थ्य सामग्री गुणस्तरीय हुँदैन भन्ने धारणा कतिपय अवस्थामा सुनिने गरेको पाइन्छ । सुनौलो परिवार नेपालका सप्लाई चेन म्यानेजमेन्ट कन्सल्टेन्ट महेश डोटेलका अनुसार त्यस्तो भ्रम हटाउन खरिद प्रक्रियामै गुणस्तर सुनिश्चित गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारले खरिद गर्ने सामग्री गुणस्तरीय हुँदैन भन्ने एउटा भ्रम छ । त्यसैले कस्ता सामग्री खरिद गर्ने, गुणस्तर कसरी सुनिश्चित गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सरकारी स्वास्थ्य संस्थाबाट नागरिकले प्राप्त गर्ने औषधि तथा स्वास्थ्य सेवाको गुणस्तरप्रति विश्वास बढाउन पनि खरिद प्रणाली महत्वपूर्ण आधार हो ।
‘सरकारले निःशुल्क वितरण गर्ने औषधिलगायत स्वास्थ्य सेवाहरू गुणस्तरीय छन् भन्ने विश्वास जनताले व्यवहारमै अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्छ’— डोटलले भन्नुभयो ।
खरिदसँगै बलियो हुनुपर्छ आपूर्ति शृङ्खला
स्वास्थ्य क्षेत्रमा औषधि तथा सामग्री खरिद गरेर मात्रै समस्या समाधान हुँदैन । खरिदपछि ती सामग्री आवश्यक स्थानमा समयमै पुग्ने र निरन्तर उपलब्ध हुने गरी सप्लाई चेन म्यानेजमेन्टलाई पनि प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य चौकीमा सामान्य औषधि अभाव हुन नदिन पनि आपूर्ति शृङ्खला व्यवस्थित हुनुपर्छ । विशेषगरी नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि स्थानीय तहका स्वास्थ्य संस्थादेखि स्वास्थ्य चौकीसम्म निरन्तर उपलब्ध गराउन खरिद, भण्डारण, ढुवानी र वितरणको सम्पूर्ण चक्रलाई व्यवस्थित गर्नुपर्छ ।
‘खरिददेखि अन्तिम सेवास्थलसम्म एउटै शृङ्खला’
स्वास्थ्य क्षेत्रमा प्रभावकारी आपूर्ति व्यवस्थापनका लागि खरिद प्रक्रियालाई स्वास्थ्य संस्थाको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने आवश्यकता छ ।
केन्द्र वा प्रदेश तहमा खरिद गरिएको औषधि तथा स्वास्थ्य सामग्री स्थानीय तहसम्म पुग्न नसक्दा नागरिकले सेवा पाउने ठाउँमै अभाव देखिन सक्छ ।
त्यसैले खरिदको योजना, मागको सही अनुमान, भण्डारण क्षमता, ढुवानी तथा वितरण प्रणालीलाई एकीकृत रूपमा हेर्नुपर्ने हुन्छ । आपूर्ति शृङ्खलाको उद्देश्य नै ‘सही सामग्री, सही गुणस्तरमा, सही स्थानमा र सही समयमा पुर्याउनु हो ।
स्वास्थ्य क्षेत्रमा खरिद प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना गरिएको एडभान्स प्रोक्युरमेन्ट ट्रेनिङले कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धिसँगै सार्वजनिक खरिदमा पारदर्शिता, गुणस्तर र जवाफदेहिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवाको प्रभावकारिता अन्ततः अस्पताल वा स्वास्थ्य संस्थामा उपलब्ध औषधि, उपकरण र आवश्यक सामग्रीसँग पनि जोडिएको हुन्छ । त्यसैले खरिद प्रक्रिया पारदर्शी र गुणस्तरीय बनाउनु स्वास्थ्य सेवाको गुणस्तर सुधारको महत्वपूर्ण आधार बन्नसक्छ ।

भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

