नेभिगेशन

निशुल्क मास्क वितरण गर्दै छत्रदेव गाउँपालिका

जनस्वास्थ्य सरोकार, सन्धिखर्क ।  चर्को मुल्यमा स्थानीयले मास्क किन्न थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । गाउँपालिका भित्रका सबै व्यक्तिलाई निशुल्क रुपमा मास्क वितरण गर्ने गरी उत्पादन सुरु गरेको हो । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन सुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी तीस हजार भन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए । कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफै उत्पादनमा ध्यान दिएको उनले बताए । 'छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनी यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफै मास्क उत्पादन गरिरहेको छ ।' पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । कोरोना भाइरसको संभावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफै मास्क उत्पादनमा जोड दिएको उनले बताए । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ।अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्