नेभिगेशन

दोस्रोपटक स्वदेशमै सफल मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री १२ दिनमा अस्पतालबाट डिस्चार्ज

जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनपछि अस्पतालबाट फागुन ३० गते साँझ डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएका प्रधानमन्त्री फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो । १२ वर्ष अघि उहाँको पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्रिवि शिक्षण अस्पतालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियमित फलोअपमा बस्नुपर्ने र नियमित रुपमा चिकित्सकको निगरानीमा रहनुपर्ने उल्लेख छ । केही समय पछि उहाँले आवश्यक सर्तकताका साथ आफ्ना नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नु हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो हस्पिटलमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलो मिर्गौला प्रत्यारोपणमा भाइबुहारी पर्ने अञ्जना घिमिरेले मिर्गौला दान गरेकोमा दोस्रोपटक ओलीको भान्जी पर्ने समीक्षाले मिर्गौला दान गर्नुभएको हो । यसअघि प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौला १० दिनको अस्पताल बसाईपछि फागुन २८ गते डिस्चार्ज हुनुभएको थियो । ओलीको मिर्गौला प्रत्यारोपण र शल्यक्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, डा.पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल गरी १६ जना चिकित्सक र एपोलोमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डा. अनन्त कुमार पनि यसपटकको मिर्गौला प्रत्यारोपणमा सहभागी हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर जानुभएको थियो । दुई हप्ताजति ’प्लाज्माफेरेसिस’ पनि गरिएको थियो । तर बिस्तारै मिर्गौलाले काम गर्न नसकेपछि गत कात्तिकबाट उहाँ नियमित डायलाईसिसमा हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शल्यक्रियामा भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो । प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् दिव्या सिह शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न थिए । एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न थियो । त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ