पश्चिमा मुलुकमा कोरोनाभाइरसका बिरामीको सङ्ख्या तीब्र गतिमा बढिरहेको छ र ती देशहरूले त्यसको नियन्त्रणका लागि स्कूल बन्द गर्नेदेखि 'लकडाउन' सम्मका विभिन्न उपायहरू कार्यान्वयन गरिरहेका छन्। केही हप्ता अगाडि नै एशियाका कैयौँ देशहरू कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित भए, ती मध्ये केहीको - भाइरस नियन्त्रण गरेकोमा - प्रशंसा भइरहेको छ। उदाहरणका लागि चीनसँग भौगोलिक हिसाबले नजिकै रहेर पनि सिङ्गापुर, हङ्कङ र ताइवानले तुलनात्मक रूपमा सङ्क्रमण न्यून कायम गर्न सफल भए। उनीहरूले केही फरक तरिका अपनाएका थिए र अरू देशले उनीहरूबाट सिक्न सक्छन्?
पाठ एक: गम्भीर बनेर छिटो केही गर
पाठ दुई: परीक्षणलाई व्यापक र सस्तो बनाउ

पाठ तीन: खोज र एक्ल्याएर राख
लक्षण भएकाहरूको परीक्षण गरेर मात्रै पुग्दैन- ती सङ्क्रमित भएपछि को-कोसँग सम्पर्कमा पुगे भन्ने खोज्नु उत्तिकै महत्त्वपूर्ण छ। सिङ्गापुरमा जासुसहरूले त्यसरी नै छ हजारजना मानिस खोजे, कतिलाई त सीसीटीभी फूटेजका आधारमा खोजियो, परीक्षण गरियो र परीक्षणको नतिजा प्राप्त नभएसम्म एक्लिएर बस्न आदेश दिइयो। हङ्कङमा कुनै व्यक्तिमा कुनै लक्षण देखिनु दुई दिनअघि को-कोसँग उनी सम्पर्कमा थिए भन्ने पनि खोजिएको थियो। उनीहरूले एक्लिएर बस्न आदेश दिइएकाहरूसाँच्चिकै घर बसे कि बसेनन् भन्नेबारे हस्तक्षेपकारी उपाय अपनाए। हङ्कङमा विदेशबाट गएकाहरू कहाँकहाँ पुग्छन् भन्ने जानकारी राख्न विद्युतीय ब्र्यासलेट लगाउनुपर्ने बाध्यकारी व्यवस्था बनाइयो। सिङ्गापुरमा एक्लिएर बसिरहेकाहरूलाई एकैदिनमा पटक पटक सम्पर्क गरेर कहाँ छन् भन्ने कुराको प्रमाण दिन फोटो पठाउनुपर्ने प्रणाली कार्यान्वयन गरियो। सिङ्गापुरमा घरमा बस्नुपर्ने आदेश नमान्नेहरूका लागि जेल सजायसम्मका कडा दण्डको व्यवस्था गरियो। त्यहाँ आदेश नमान्ने एकजनाको सिङ्गापुरमा बसोबास गर्न पाउने अधिकार खोसियो। पश्चिमका धेरै देशहरूलाई उनीहरूको जनसङ्ख्या धेरै रहेका कारण र नागरिक स्वतन्त्रता पनि धेरै भएका कारण त्यस्ता उपायहरू कार्यान्वयनमा ल्याउन मुस्किल हुनेछ। प्राध्यापक वूइ भन्छन्, "हामीले जे गरिरहेका छौँ त्यही दुरुस्तै अरू मुलुकमा गर्नुपर्छ भन्नुको अर्थ छैन, त्यो त आ-आफ्ना मुलुकमा सम्भव भएसम्म गर्न खोज्ने हो।"पाठ चार: सकेसम्म छिटो सामाजिक दूरी
सामाजिक घुलमिल कम गर्ने वा दूरी राख्ने कामलाई प्रकोप नियन्त्रण गर्ने एक प्रमुख उपायका रूपमा लिइन्छ। तर सामाजिक दूरी कार्यान्वयन गर्न जति ढिलो गरिन्छ त्यति धेरै कडा नियम लगाउनुपर्ने हुन्छ। चीनको वुहान जहाँबाट भाइरसको सङ्क्रमण सुरु भएको ठानिन्छ- त्यहाँ सामाजिक घुलमिल बन्द गर्नु अगाडि नै ५० लाख मानिसहरू शहरबाट बाहिरिइसकेका थिए। यसले सरकारलाई मानव इतिहासको सबैभन्दा ठूलो क्वारन्टीन लगाउनुपर्ने अवस्थामा पुर्यायो। तर इटली र स्पेन दुवै सङ्क्रमितहरूको सङ्ख्या हजारौँ पुगेपछि राष्ट्रिय लकडाउन गर्न बाध्य भए। अमेरिकामा न्यूयोर्क र क्यालिफोर्नियाले आफ्ना बासिन्दालाई खाद्य सामग्री खरिद गर्ने जस्ता अत्यावश्यक बाहेक अन्य काममा बाहिर ननिस्कन र घरभित्रै बस्न आदेश दिएको छ। त्यस विपरीत सिङ्गापुरमा अझ पनि स्कूल सञ्चालन भइरहेका छन् तर ठूला सार्वजनिक जमघटहरू रद्द गरिएका छन्। हङ्कङमा स्कूलहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न प्रोत्साहन गरिएको छ तर रेस्टुरेन्ट र बारहरू खुला छन्। प्राध्यापक वूइ सरकारले कति छिटो सामाजिक दूरी राख्ने कामलाई कार्यान्वयनमा ल्याउन सक्छ त्यसले फरक पार्ने विश्वास राख्छन्। "धेरै मुलुकहरूले नियन्त्रणका उपायहरू अपनाउँदा सङ्क्रमितहरूको सङ्ख्या निकै ठूलो भइसकेको हुन्छ", उनी भन्छन्, "त्यसबेलासम्म कडा उपायहरू अपनाउन आवश्यक भइसकेको हुन्छ।" सरकारले जमघटमा लगाउने रोक र स्कूल बन्द गर्ने निर्णयबाट सामाजिक दूरी बनाउने काम प्रभावित हुन्छ। तर त्यो मानिसहरू त्यसमा सहभागी हुन चाहन्छन् कि चाहँदैनन् त्यसमा पनि निर्भर पर्छ। त्यसैकारण सार्वजनिक सन्देश र व्यक्तिगत बानीबेहोरा पनि महत्त्वपूर्ण हुन्छ।पाठ पाँच: सर्वसाधारणलाई सही सूचना दिनु र उनीहरूको पक्षमा काम गर्न
"जबसम्म जनताको सहयोग प्राप्त हुँदैन तबसम्म सरकारले भनेका नीतिको पालना हुन सक्दैन", प्राध्यापक पङगेस्टु भन्छन्, "महत्त्वपूर्ण कुरा भनेको नीतिहरू वैज्ञानिक प्रमाणका आधारमा निर्धारण गरिनुपर्छ।" प्रकोप भएको कुरा भन्न मान्न ढिला गरेको भनेर चीनको ठूलो आलोचना भयो। गम्भीर चिन्ता बढ्दै गएका बेला पनि चीनले वुहानमा ठूलो राजनीतिक भेला गर्न अनुमति दियो। अधिकारीहरूले त सङ्क्रमणको गम्भीरताबारे चेतावनी दिने प्रयास गरेका डाक्टरहरूलाई पनि सजाय दिए। भाइरसकै कारण त्यसरी चेतावनी दिएका डाक्टरको मृत्यु भएपछि त्यसप्रति आक्रोश पैदा भयो। त्यसपछि भने भाइरस फैलिने क्रमलाई प्रभावकारी रूपमा कम गराउन विशाल 'लकडाउन' गर्न लगाए र अस्पतालको क्षमता बढाउन सकेको भनेर चीनको प्रशंसा भएको छ। तर आलोचकहरू सुरुको काम ढिलो गरेकाले पछि त्यस्ता कडा उपाय अपनाउनुपरेको ठान्छन्। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य अधिकारीहरूबीच खासगरी प्रकोपको गम्भीरता र परीक्षण किटबारेको धारणा बाझिने गरेको छ। सरकार कति मानिसको परीक्षण भयो भन्ने जानकारी दिन असक्षम भएको छ किनभने कैयौँ निजी प्रयोगशालाहरूले सीडीसीलाई तथ्याङ्क उपलब्ध गराएका छैनन्। प्राध्यापक वूइ भन्छन्, "प्रकोप ग जुझ्न सरकारले गर्ने काम पारदर्शी हुनुपर्छ, ता कि मानिसहरू त्रस्त नहोउन् र अनावश्यक रूपमा सामान सङ्ग्रह नगरुन्।" केही सरकारले प्रविधिको प्रयोग गरेर आफ्ना नागरिकलाई सूचना अद्यावधिक गर्ने गरेका छन्। हङ्कङले सबै केसहरूको अनलाइन तालिका राखिदिएको छ। त्यसमा राखिएका नक्शाको भरमा सङ्क्रमित फेला परेका भवनहरू पनि हेर्न सकिन्छ। दक्षिण कोरियामा नागरिकहरूलाई उनीहरूको छिमेकमा बिरामी फेला परेको भए जानकारी दिइन्छ। सिङ्गापुरमा प्रधानमन्त्रीले अनावश्यक रूपमा धेरै सामान नकिन्न गरेको आग्रह सहित सरकारले कोरोनाभाइरसबारे स्पष्ट सूचना दिने गरेको भनेर प्रशंसा भएको छ। सरकारको कामलाई आम सर्वसाधारणले समर्थन गरेका छन्। सिङ्गापुरमा राष्ट्रिय सुरक्षाका लागि सामूहिक दायित्वको लामो इतिहास पनि छ। र, त्यहाँको मिडियाले औपचारिक घोषणालाई चुनौती दिने गरेको पनि खासै पाइन्न।पाठ छ: यो व्यक्तिगत व्यवहारमा पनि निहित
कैयौँले भने झैँ एशियालीहरूले सरकारले दिएको आदेशको पालना गर्ने सम्भावना धेरै छ भन्नु चाहिँ अति साधारण विश्लेषण हुन्छ। हङ्कङको सरकारमाथि सर्वसाधारणको विश्वास असाध्यै कम छ, त्यहाँ महिनौँदेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ। तर संसारकै अति धेरै जनघनत्व भएका शहरहरूमध्ये एक हङ्कङमा धेरैले आफूलाई स्वस्फूर्त रूपमा सामाजिक दूरीमा राखे। कति मानिस नयाँ वर्षका जमघटमा सहभागी भएनन् जुन क्रिशमश मनाउने काममा सहभागी नभए जस्तै हो। प्राध्यापक पङगेस्टुका अनुसार हङ्कङबासीहरूले सरकारलाई विश्वास नगरेपनि 'उनीहरू हङ्कङमाथि गर्व गर्छन् र कोरोनाभाइरसको प्रकोपले हङ्कङको पहिचानमाथि खतरा हुन सक्ने' देख्छन्। त्यहाँ सन् २००३ मा भएको सार्स प्रकोप स्मरण गर्ने मानिसहरू रहेको र 'व्यक्तिगत दायित्वबोध रहेको' डक्टर्स विदाउट बोर्डर्सकी करिन हस्टरले बताइन्। उनले धेरैले मास्क लगाउनुलाई अरूप्रति आदर गरेको सङ्केतका रूपमा हेरिने गरेको पनि बताइन्। मास्क नलगाएकाले कैयौँपटक मानिसहरू उनीसँग लिफ्ट चढ्न नमानेको उनी बताउँछिन्। त्यस विपरित पश्चिममा मानिसहरूलाई मास्क नलगाउन भनिएको छ र मास्क लगाएकैले कैयौँ एशियालीहरूले दुर्व्यवहार भोग्नु परेको छ। एशियामा विज्ञहरू हात धुने जस्ता उपायभन्दा मास्क कम प्रभावकारी भएकोमा सहमत छन्। तर मास्क लगाउनु पनि राम्रो नै हो भन्ने धारणा उत्तिकै छ। युनिभर्सिटी अफ हङ्कङका सरुवारोग सम्बन्धी प्राध्यापक बेन्जामिन काउलिङको तर्क छ, "कोरोनाभाइरस विरुद्ध मास्कहरू जादुका गोली होइनन्… तर सबैले मास्क लगाए भने सङ्क्रमण कम गर्न सहयोग पुग्न सक्छ।" सामाजिक दूरीबारे हस्टर भन्छिन्, "मेरो विचारमा अमेरिकामा हामी यति व्यक्तिकेन्द्रित छौँ - हाम्रो 'स्वतन्त्रता ' दाउमा राख्न हामीलाई मुस्किल हुनेछ।"यो सबै गरे भाइरस रोक्न सम्भव छ?
विज्ञहरूको विश्वास छ- जति आक्रामक उपायहरू पश्चिममा अपनाइने छ त्यति नै क्रमश: सङ्क्रमण कम गर्न मद्दत मिल्नेछ। भाइरस नियन्त्रणमा लिएको भए पनि प्रवेश गरिरहेका मानिसहरूका कारण चीन, दक्षिण कोरिया, ताइवान, सिङ्गापुर र हङ्कङले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर भोगिरहेका छन्। र, यो प्रकोप कहिलेसम्म चल्नेछ भन्ने प्रष्ट छैन। प्राध्यापक वूइ भने हुबे प्रान्तमा लकडाउन गरेको दुईदेखि तीन हप्तामा सङ्क्रमितको सङ्ख्या घटेकोमा आशावादी छन्। चीनमा कडा उपाय अपनाइएको भएपनि कम कडा उपाय अपनाइएका देशहरूमा पनि केही सातामा सङक्रमण नियन्त्रण हुने उनको विश्वास छ। उनले भने, "अरू मुलुकका लागि त्यो प्रोत्साहनको कुरा हुनेछ, त्यो दुखदायी छ तर गर्न सकिन्छ भन्ने देखाउँछ।" तर प्राध्यापक काउलिङको चिन्ता छ- यदि लकडाउन अति छिटो अन्त्य गरियो भने स्थानीय स्तरमा सङ्क्रमण पुन: सुरु हुनसक्छ। उनी भन्छन्, "सामाजिक दूरी चाहिनेजति समयसम्म कायम राख्न सकिन्छ कि सकिन्न मलाई थाहा छैन। तर खोप नबनेसम्म त्यस्तो गर्नुपर्छ भन्ठान्छु। त्यो भनेको १८ महिनासम्म लाग्न सक्छ। र, हङ्कङमा दुई महिनामै मानिसहरू थाकिसके।" "लामो समयको लकडाउन अर्थतन्त्रका लागि घातक छ र महामारी आम स्वास्थ्यका लागि हानिकारक छ…हामीसँग रोज्न पाउने अवस्था छैन।" बीबीसी
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
