नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो नयाँ तथा प्रस्तावित संगठन तथा व्यवस्थापन (ओएण्डएम) संरचनाको प्रारम्भिक खाका तयार गरेको छ। प्रस्तावित संरचनाले मन्त्रालयको प्रशासनिक तथा प्राविधिक कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
प्रस्तावअनुसार मन्त्रालयको राजनीतिक नेतृत्व मन्त्रीले र प्रशासनिक नेतृत्व सचिवले गर्ने व्यवस्था गरिएको छ। मन्त्रीको निजी सचिवालय, मन्त्रालय सचिवालय तथा स्वास्थ्य आपत्कालीन एवं विपद् व्यवस्थापन एकाइलाई नेतृत्व तहसँग प्रत्यक्ष समन्वय हुने गरी संरचना प्रस्ताव गरिएको छ।
नयाँ खाकामा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारीका लागि कुल १ हजार ८ सय ६ दरबन्दी कायम गर्ने प्रस्ताव गरिएको छ। यसले सेवा प्रवाह, नियमन र प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रस्तावित संरचनामा मन्त्रालयका कामलाई तीन मुख्य महाशाखामार्फत सञ्चालन गर्ने योजना छ। तीमध्ये नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा समावेश छन्।
नीति तथा योजना महाशाखाअन्तर्गत बजेट, अनुगमन तथा मूल्याङ्कन र स्वास्थ्य समन्वयसम्बन्धी शाखाहरू रहने प्रस्ताव गरिएको छ। त्यस्तै प्रशासन तथा सूचना प्रविधि महाशाखामा मानव संसाधन, आर्थिक प्रशासन, कानुनी व्यवस्था तथा सूचना प्रविधि (ई–हेल्थ) सम्बन्धी शाखाहरू सञ्चालन हुनेछन्।
स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाले स्वास्थ्य संस्था, खाद्य तथा औषधिको गुणस्तर र मापदण्डको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाउने प्रस्ताव गरिएको छ। यसअन्तर्गत चिकित्सा सेवा तथा शिक्षा, वैकल्पिक चिकित्सा, स्वास्थ्य संस्था मापदण्ड, साथै खाद्य तथा औषधि गुणस्तर नियमनसम्बन्धी शाखाहरू रहनेछन्।
प्रस्तावित संरचनामा वरिष्ठ फार्मासिस्ट, जनस्वास्थ्य अधिकृत, खाद्य अनुसन्धान अधिकृत, फार्मेसी अधिकृत, खाद्य निरीक्षकलगायत प्राविधिक तथा प्रशासनिक जनशक्तिको जिम्मेवारी र दरबन्दीसमेत निर्धारण गर्ने व्यवस्था गरिएको छ।

निजी स्वार्थको प्रभाव हटाउन डा. गोविन्द केसीको तीनबुँदे माग
शुक्रबार, साउन १, २०८३
चितवनका अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन १, २०८३
एभरेस्ट अस्पताल र डा. ज्योत्सनालाई ३९ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको फैसला
शुक्रबार, साउन १, २०८३
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
शुक्रबार, साउन १, २०८३
