नोपाल हेल्थ न्युज, काठमाडौं । प्रसूति सेवाका क्रममा एक महिलाको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताललाई ३० लाख रुपैयाँ र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई ९ लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरेको हो।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार उक्त आदेश अदालतको निर्णयअनुसार जारी गरिएको हो। यो मुद्दा गोठाटार निवासी मनिता शर्माको प्रसूति क्रममा मृत्यु भएपछि उनका श्रीमान् सुवास पराजुलीले दायर गरेका थिए। उनले चिकित्सक तथा अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका थिए।
फैसलामा उल्लेख भएअनुसार मनिता ३४ हप्ताकी गर्भवती थिइन् र गर्भावस्थाभर डा. ज्योत्सना शर्मा तिवारीको निगरानीमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्। पेटको माथिल्लो भागमा असहज पीडा भएपछि चिकित्सकको सल्लाहअनुसार उनी मङ्सिर २५ गते एभरेस्ट अस्पताल पुगेकी थिइन्।
अस्पतालमा भर्ना भएपछि सोही दिन उनलाई सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएको थियो। शल्यक्रियामार्फत शिशुको जन्म भए पनि त्यसलगत्तै मनिताको मृत्यु भएको थियो।
अदालतले घटनाको अध्ययनपछि उपचार प्रक्रियामा अस्पताल र चिकित्सकको लापरबाही रहेको निष्कर्ष निकाल्दै पीडित परिवारको पक्षमा क्षतिपूर्तिको आदेश दिएको हो।
निजी स्वार्थको प्रभाव हटाउन डा. गोविन्द केसीको तीनबुँदे माग
शुक्रबार, साउन १, २०८३
चितवनका अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन १, २०८३
स्वास्थ्य मन्त्रालयको नयाँ संरचना प्रस्ताव, १ हजार ८ सय ६ कर्मचारीको दरबन्दी
शुक्रबार, साउन १, २०८३
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
शुक्रबार, साउन १, २०८३
