नेभिगेशन

‘कोरोना महामारी बिरुद्धको जीतमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको विशेषज्ञता र कर्तव्यनिष्ठा महत्वपूर्ण’—प्रधानमन्त्री ओली

जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको जीतमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको विशेषज्ञता र कर्तव्यनिष्ठा महत्वपूर्ण हुने बताउनुभएको छ । सफलताको राज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो—‘कोरोना महामारीविरुद्धको यो युद्ध चिकित्सक र स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाईं हो । आजसम्मको यो भूमिकाले महामारी नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलेको छ ।’ ‘अबको लडाईंको जीत तपाईहरुको हौसला विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ ।’—प्रधानमन्त्री ओलीले भन्नुभयो— ‘तपाईंहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्दछ ।’सिमित पूर्वाधार, स्वास्थ्य सामाग्री तथा उपकरणका कमीको बावजुद् स्वास्थ्यकर्मी तथा अग्रिम मोर्चामा संलग्न सबैले देखाउनुभएको कर्तव्य परायणता अत्यन्तै सराहनिय भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । सजगता र सावधानी प्रधानमन्त्री ओलीले बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण एकजनामा देखिएसँगै कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले आगामी दिनमा थप सजगता र सावधानी अपनाउन जरुरी भएको बताउनुभयो । ‘तपाईं हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सिमित गर्न सकिएपनि हामी उच्च जोखिममा रहेका छौं ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो—‘लक डाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी नअपनाएमा अझ स्थिति भयावह बन्नसक्ने खतरा छ ।’ दुई साता चुनौतिपूर्ण
संकटको यो घडीमा जो जहाँ छौं त्यहीँ सुरक्षित रहन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो—‘आउने दुई साता हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ ।’ यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधिमात्र नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन सारा प्रयास केन्द्रित गरेकोसमेत प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
क्वारेन्टाइन नबस्दाको चिन्ता भारतलगायत विदेशी भूमिहरुबाट हजारौं व्यक्ति घर फर्किएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्न गरिएको आग्रहलाई ध्यान नदिएकाले चिन्ता थपिएको छ । प्रधानमन्त्री ओलीले स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जान आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो—‘तपाईहरुको लापरबाही स्वयं तपाईंको, तपाईंको परिवार र सिंगो समुदायका लागि निकै महँगो पर्नसक्छ ।’ क्वारेन्टाइन र आइसोलेसन प्रधानमन्त्री ओलीले मुलुकभर ३०,५६६ जना लाई राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्था गरिएको र अहिले ९१६८ जना क्वारेन्टाइमा रहेको जानकारी दिनुभयो । यसैगरी देशभर ३,२५९ जना क्षमताको आइसोलेशन वेड तयार गरिएको र हाल ९५ जना उपचाररत रहेको प्रधानमन्त्रीले बताउनुभयो । परीक्षण र पहिचान सकभर संक्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि नियन्त्रण गर्न पूर्ण तयारीमा सरकार जुटेको स्पष्ट पार्नुभयो । यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रिक्याक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको जानकारी गराउनुभयो । हिजोसम्म १८९० जनाको परीक्षण गरिसकिएको र सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीब्रता दिनुका साथै संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रुत परीक्षण र्यापिड डिटेक्सन टेष्ट (आरडिटी) विधिमार्फत हजारौंको नमुना परीक्षणको तयारी अघि बढाइएको छ । व्यक्तिगत सुरक्षा सामाग्री सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पूरासेट १०४८ थान, गाउन ११८१९ थान, एन ९५ मास्क ४३४५ थान, मास्क ५६५२६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामाग्रीहरुको व्यवस्था मिलाइएको छ । साथै भेन्टिलेटरसहित अपुग स्वास्थ्य सामाग्री तथा उपकरणहरुको थप प्रबन्ध गर्दै रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । संक्रमणलाई सीमित राख्न आग्रह प्रधानमन्त्री ओलीले नेपालमा लकडाउन शुरु भएपछि नेपाल भारत सिमा आएका नेपालीहरुले भोग्नुपरेको अफ्टेरो र उनीहरुको भावनालाई सरकारले बुझेको बताउनुभयो । तर संक्रमणको जोखिमलाई न्युन गर्न अन्तर्राष्ट्रिय सिमामा आवतजावत बन्द गर्नैपर्ने बाद्यता छ । भारत सरकारकासँग समन्वय गरी सिमाको पारिपटी रहेका २१४७ नेपालीहरुलाई उतै क्वारेन्टाइमा राखिएको छ । सिमाको वारिपटी रहेका करिब ७ सय भारतीय नागरिकहरुलाई नेपाल सरकारले क्वारेन्टाइनमा राखेको छ । प्रधानमन्त्री ओलीले लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सिमित गर्न सरकारले उचित उपाय अपनाएको हो भन्ने महसुस गर्न सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो—‘निश्चित अवधि पूरा गरिसकेपछि स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई देशभित्र भित्र्याइने छ ।’ सहानुभूति र सद्भाव विश्वव्यापी रुपमा संक्रमण फैलिदै जाँदा विदेशमा रहेका कतिपय नेपालीहरुमा पनि संक्रमण देखा परेको छ । केहीको दुःखद् निधन भएको छ । लाखौंको संख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर रोजगारी तथा पढाइलाई लिएर समग्र भविष्यलाई लिएर चिन्तित रहेको बताउँदै प्रधानमन्त्री ओलीले संकटको घडीमा उहाँहरुप्रति सहानुभूति सद्भाव प्रकट गर्नुभयो । ‘हाम्रा दुतावास् र मिसनहरु प्रवासी र गैर आवासीय नेपालीहरुको समस्या समाधानमा क्रियाशील छौं ।’—प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्