कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी हुने भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद थापाले महानगरप्रमुख शाक्यलाई त्यसका लागि अग्रसरता लिन भनेका हुन् । महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना संक्रमणको गतिलाई धेरै हदसम्म न्यून गर्न सकिने थापाको भनाइ थियो ।महानगरप्रमुख शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी ध्यानाकर्षण गराएको थापाले जानकारी दिए । सांसद थापाले महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई गराएका ध्यानाकर्षणका ६ बुँदा
१. काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहन्छौं । तपाईं सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।
२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।
३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड/टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।
४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।
५. खाद्यान्न पसल दिनको १-२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।
६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।
सांसद थापाले महानगरले यी काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले दिने बताएका छन् । 'उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ ।' महानगरप्रमुख शाक्यलाई सबै तह र निकायसँग समन्वय गरेर कोरोना विरुद्ध लड्न पनि सांसद थापाले सुझाव दिएका छन् । कान्तिपुरदैनिकबाट

