नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उनले व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।
उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

