नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी वृद्धि गर्ने रणनीतिसहित विभिन्न निर्णयहरू गरेको छ।
बोर्ड अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको हालैको बैठकले अनावश्यक परीक्षण तथा दोहोरो दाबीका कारण भुक्तानीमा समस्या आएको निष्कर्ष निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रोटोकलअनुसार उपचार गराउने व्यवस्थाका लागि अनुरोध गरेको हो।
बोर्डको भनाइमा अहिले सरकारले दिने आधारभूत स्वास्थ्य उपचार खर्च समेत बीमा कार्यक्रममा समेटिँदा दोहोरोपना देखिएको छ। सो समस्याको समाधानका लागि मन्त्रालयमा सिफारिस पठाइएको छ।
मन्त्रालयको तदारुकताः सुझाव कार्यदल गठन
बोर्डको आग्रहलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्ड कार्यान्वयन र दोहोरोपना हटाउन सुझाव कार्यदल गठन गरिसकेका छन्।
कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताएअनुसार सरकारले दिने सबै उपचार सहायता कार्यक्रम स्वास्थ्य बीमा कोषमार्फत सञ्चालन गर्न सके दोहोरोपना हट्नुका साथै लागत समेत घट्नेछ।
आम्दानी बढाउने नयाँ उपायहरू प्रस्ताव
बोर्डले बीमा कोषको आर्थिक आधार सुदृढ बनाउन विभिन्न नयाँ स्रोतहरू परिचालन गर्ने प्रस्ताव अघि सारेको छ ।
- औषधी कम्पनीहरूले आफ्नो खर्चको एक निश्चित हिस्सा बीमा कोषमा जम्मा गर्ने व्यवस्था।
- स्वास्थ्य बीमा चिठ्ठा सञ्चालनको अनुमति सरकारसँग माग।
- मेडिकल सामग्री, रिचार्ज कार्ड, डिजिटल बैंकिङ, मदिरा, चिनीजन्य वस्तु, पेट्रोलियम आदिबाट उठाइने राजस्वको एक हिस्सा बीमा कोषमा सोझै जाने व्यवस्था।
एकीकृत स्वास्थ्य बीमा प्रणालीतर्फ लक्ष्य
काफ्लेले “विपन्न नागरिक उपचार कोष निर्देशिका २०८० र आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम २०७८” स्वास्थ्य बीमासँग एकीकृत गरिँदा सेवा प्रवाह थप प्रभावकारी हुने बताउँदै लक्षित वर्गलाई बीमामा अनिवार्य सहभागी गराउने प्रस्ताव मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो।
यसअघि, मन्त्री पौडेलले संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत बीमा कोषमा जम्मा गर्ने निर्णय गरिसक्नुभएको छ ।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
