नेपाल हेल्थ न्युज, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमा अहिले रगतको चरम अभाव भएको छ। बिरामीका लागि आवश्यक रगत लिन पुगेका अस्पतालका प्रतिनिधि र सर्वसाधारणलाई केन्द्रले हाल कुनै पनि प्रकारको रगत दिन नसकेको जनाइएको छ।
केन्द्रमा केही दिनदेखि रगत उपलब्ध नभएको जानकारी दिँदै स्टोर इन्चार्ज गोकुल बानियाँले भन्नुभयो, बिहानैदेखि फोन आउने क्रम रोकिएको छैन, तर हाम्रो स्टकमा अहिले एक युनिट पनि रगत छैन। उहाँका अनुसार जिल्लाका अस्पताल तथा व्यक्तिहरूबाट लगातार रगतको माग भइरहे पनि माग अनुसार आपूर्ति गर्न सकिने अवस्था छैन।
सात सय युनिट रगत भण्डारण गर्न सक्ने क्षमता भएको यस केन्द्रमा यस्तो अवस्था आउनु गम्भीर विषय हो। नियमित रक्तदाताको कमी, रक्तदान कार्यक्रमहरूको न्यूनता, र रगत लिनेको संख्या बढ्नुले समस्या झन् चर्किएको रेडक्रस काभ्रेका केन्द्र प्रमुख राधा थापाले बताउनुभयो । “हामी कहिलेकाहीँ पुराना रक्तदातालाई फोन गरेर बिरामीका आफन्तसँग समन्वय गरिरहेका छौं, तर यो स्थायी समाधान होइन,” उहाँले भन्नुभयो।
थापाका अनुसार ‘ए(पोजेटिभ’, ‘बी(पोजेटिभ’, ‘एबी(पोजेटिभ’ र ‘ओ(पोजेटिभ’सहित सबै प्रमुख रक्त समूहहरूको अभाव देखिएको छ।
केन्द्रमा अभाव भएपछि केही समयदेखि काठमाडौँ र भक्तपुरबाट रगत ल्याउने गरिएको थियो, तर पछिल्ला दिनमा ती जिल्लामा पनि रगतको स्थिति कमजोर भएको जानकारी आएको छ।
काभ्रेका अस्पतालहरूमा सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाबाट बिरामीहरू आउने गर्छन्। शल्यक्रिया तथा आकस्मिक सेवामा रगतको आवश्यकता अधिक हुने भएकाले अभावले गम्भीर असर पारिरहेको छ।
स्थानीय निकाय, स्वास्थ्य संस्थाहरू, र स्वयंसेवी संस्थाहरूले समन्वय गरी तत्काल रक्तदान कार्यक्रम आयोजना नगरे काभ्रेको स्वास्थ्य सेवा थप संकटमा पर्ने देखिन्छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

