नेभिगेशन

नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी आर्थिक वर्षदेखि मुलुकका सबै सातवटै प्रदेशमा क्यान्सर, मुटु र जलन सम्बन्धी उपचार सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सोमबार प्रदेश सरकारहरूसँग बजेटसम्बन्धी छलफलमा बोल्दै मन्त्री पौडेलले हाल क्यान्सर उपचार सेवा केही सीमित स्थानमा मात्र उपलब्ध रहेकाले अब त्यसलाई सबै प्रदेशमा पुर्‍याउने योजना अघि बढाइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार, पूर्वाधार निर्माणदेखि जनशक्ति व्यवस्थासम्मका विषयमा संघीय सरकारले आवश्यक पहल गरिरहेको छ।

मन्त्री पौडेलले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन तीन तह — संघ, प्रदेश र स्थानीय — बीच सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो। जहाँ जुन स्तरको अस्पताल छ, त्यहाँ तीनवटै तहले संयुक्त लगानी गर्न सके प्रभावकारी सेवा विस्तार सम्भव हुन्छ, उहाँले भन्नुभयो।

उहाँका अनुसार मुटु तथा जलनसम्बन्धी उपचारका लागि आवश्यक संरचना निर्माणको काम पनि प्रारम्भ भइसकेको छ। हालसम्म ६० वटा आधारभूत अस्पताल भवन तयार भइसकेका भए पनि जनशक्ति र उपकरण अभावका कारण ती अस्पतालहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।

यी अस्पतालहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न करिब ३० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाउँदै मन्त्री पौडेलले सबै तहका सरकारहरूबीच प्रभावकारी सहकार्य जरुरी रहेको धारणा राख्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट