नेपाल हेल्थ न्युज, नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य बीमा प्रणालीलाई दिगो र जनउत्तरदायी बनाउन नागरिकको सहभागितामा आधारित नयाँ मोडल लागू गर्ने संकेत दिनुभएको छ।
भेरी अस्पतालमा जलन उपचार वार्ड र सर्जिकल विङ्गको उद्घाटन तथा सिकलसेल र थालेसेमिया रोगीका लागि निःशुल्क खोप हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पौडेलले वर्तमान बीमा प्रणाली दीर्घकालीन रुपमा टिक्न नसक्ने प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “अब योगदान गर्न सक्ने नागरिकलाई बीमाको दायित्वमा आबद्ध गराइनेछ, ताकि राज्यको बोझ कम हुँदै सेवा प्रभावकारी बनोस्।”
मन्त्री पौडेलले यस आर्थिक वर्षभित्रै बीमासम्बन्धी नीतिगत पुनर्संरचना गरिने योजना रहेको जानकारी पनि दिनुभयो। उहाँले संघीय सरकारको प्राथमिकता भित्र पर्ने भेरी अस्पतालको स्तरोन्नति र विशिष्टीकरणमा मन्त्रालय निरन्तर क्रियाशील रहेको बताउनुभयो।
भेरी अस्पतालमा हालै थपिएका ७ नयाँ कार्यक्रम र व्यवस्थित भएका १३ सेवाले सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको भन्दै मन्त्री पौडेलले जलन वार्ड सञ्चालनलाई “महत्त्वपूर्ण उपलब्धि” का रूपमा चित्रित गर्नुभयो। पश्चिम नेपालका बिरामीका लागि यो अस्पतालमा सेवा सुविधा अझै बिस्तार गरिनुपर्ने उहाँको धारणा थियो।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि विशेष स्वास्थ्य सेवाहरू सबै सरकारी अस्पतालमा विस्तार गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो। सर्जिकल सेवा छिटो र सहज बनाउनेतर्फ ध्यान दिइएको भन्दै डा. देवकोटाले संरचनागत र उपकरण सम्बन्धी चुनौतीबीच पनि उच्चतम सेवा दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता भेरी अस्पताल विकास समिति अध्यक्ष विरेन्द्र बहादुर शाहले गर्नुभयो भने, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पछिल्लो चार महिनामा भएका सुधार र सेवागत प्रगतिको विवरण प्रस्तुत गर्नुभयो। कार्यक्रम सञ्चालक समितिका सदस्य डा. डक्ट प्रसाद धिताल हुनुहुन्थ्यो।
मुख्य अंशहरू संक्षेपमा
- स्वास्थ्य बीमामा जनसहभागितालाई प्राथमिकता
- भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्ग सुरु
- ७ नयाँ सेवा कार्यक्रम थपिए, १३ सेवा पुनर्संरचना
- सरकारको प्राथमिकतामा भेरी अस्पताल
- सेवा गुणस्तर सुधारमा केन्द्रित योजना
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

