नेपाल हेल्थ न्युज, वीरगञ्ज । नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा देखिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। करिब १ करोड ८४ लाख रुपैयाँ बराबरको भ्रष्टाचार आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको हो।
मुद्दामा अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार ठाकुरसहित शहरी विकास तथा भवन कार्यालय, पर्साका तत्कालीन इन्जिनियर राजेन्द्र साह र सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव तथा लेखापाल सुदीप कुमार माझी, मूल्याङ्कन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरी, साथै निर्माण कम्पनी लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा र लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा समेत छन्।
अख्तियारले लुम्बिनी मिसन जेभीलाई समेत मुद्दाको विपक्षी बनाएको छ। अनुसन्धानका क्रममा अस्पतालको आकस्मिक कक्षको निर्माण प्रक्रिया शंकास्पद देखिएको छ। ठेक्काको शर्त अनुसार इन्टरलक ब्लक जस्ता सहायक निर्माण कार्यलाई मुख्य कार्यसरह देखाएर अन्य प्रतिस्पर्धीलाई बाहिर राख्ने उद्देश्यले बोलपत्र प्रक्रिया अघि बढाइएको पाइएको छ।
सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको भन्दै आयोगले ठेक्का प्रक्रियामा मिलेमतो भएको दाबी गर्दै सम्बन्धित व्यक्तिहरूबाट राज्यलाई आर्थिक हानि पुर्याइएको निष्कर्ष निकालेको छ। कुल लागतको ३.५ प्रतिशत हिस्सा मात्र ओगट्ने इन्टरलक ब्लक बिछ्याउने कामलाई प्रमुख आधार बनाई अन्य बोलपत्रदातालाई अस्वीकार गर्नु अनुचित भएको अख्तियारको भनाइ छ।
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

