नेभिगेशन

नेपालमा अन्तर्राष्ट्रिय मिडवाइफ दिवसः ‘हरेक संकटमा मिडवाइफ आवश्यक’ भन्ने नारासहित प्रभातफेरी कार्यक्रम सम्पन्न

नेपाल हेल्थ न्युज, काठमाडौं ।  अन्तर्राष्ट्रिय मिडवाइफ दिवस २०२५ का अवसरमा मिडवाइफ्री सोसाइटी अफ नेपाल (मिडसन) ले ‘मिडवाइफ्सः हरेक संकटमा आवश्यक’ भन्ने नारासहित विशेष कार्यक्रम आयोजना गरेको छ । साथै प्रभातफेरी कार्यक्रम समेत गरिएको छ ।

विश्वव्यापी रूपमा सन् १९९२ देखि मनाइँदै आएको अन्तर्राष्ट्रिय मिडवाइफ दिवस नेपालमा मिडसनले आफ्नो स्थापना काल २०६६ फागुनदेखि मनाउँदै आएको हो । यस दिवसमार्फत मिडवाइफहरूको भूमिकालाई सार्वजनिक स्वास्थ्य क्षेत्रमा अझ प्रस्ट्याउन खोजिएको छ ।

विश्व स्वास्थ्य संगठन २०२३ को प्रतिवेदनअनुसार, विश्वभर दैनिक झन्डै ८०० जना महिलाको गर्भावस्था वा सुत्केरी अवस्थामामा मृत्यु भइरहेको छ यसमध्ये धेरै मृत्युहरू रोक्न सकिने खालका छन् । नेपालमा प्रतिलाख जीवित जन्ममा १५१ जना महिलाको मृत्यु हुने गरेको छ । यो सन् २०३० सम्ममा तय गरिएको ७० भन्दा कम पुर्याउने लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो ।

मिडसनकी अध्यक्ष गोमा निरौलाका अनुसार, ‘यो चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न मिडवाइफहरू अत्यन्तै आवश्यक जनशक्ति हुन् । प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व, महामारी, जलवायु संकट वा स्वास्थ्य प्रणाली असफल हुँदा पनि मिडवाइफहरूले महिला र नवजात शिशुको जीवन रक्षाका लागि अग्रपंक्तिमा रहेर काम गर्ने गर्छन् ।’

नेपालमा मिडवाइफ्री शिक्षा सन् २०७३ देखि सुरु भएको हो । हालसम्म ६ वटा विश्वविद्यालय र २ वटा प्राविधिक शिक्षालयहरूले मिडवाइफ्री शिक्षा दिइरहेका छन् । तर नेपाल सरकारले मिडवाइफ जनशक्तिको समुदाय स्तरमा स्थायी नियुक्ति गर्न सकेको छैन ।

नेपालको संविधान २०७२ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार प्रत्येक महिलाले गुणस्तरीय प्रसूति सेवा पाउने अधिकार सुनिश्चित गरिएको छ । तर व्यवहारमा मिडवाइफ जनशक्तिको अभाव, व्यवस्थापनको कमजोरी र पहुँचको असमानताले समस्याहरू कायमै छन् ।

मिडसनले यस दिवसको अवसरमा नेपाल सरकार र सरोकारवाला निकायहरूलाई मिडवाइफ सेवा तथा जनशक्ति विकासका लागि स्रोत, साधन र नीतिगत व्यवस्थापनमा प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट