नेपाल हेल्थ न्युज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो स्वास्थ्य संस्था शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा स्थापना भएको ६५ वर्षपछि सिटी स्क्यान सेवा सुरु गरिएको छ। अत्याधुनिक १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन अस्पतालमा जडान भई औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो।
चार लाख ६० हजार अमेरिकी डलर लागतमा खरिद गरिएको उक्त मेसिनको कुल मूल्य नेपाली रुपैयाँमा करीब सात करोड ५० लाख पुगेको छ। यसमा जेनेरेटरलगायतका आवश्यक उपकरणहरूको पनि समावेश छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसका अनुसार, उपकरण खरिदका लागि रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल, रोटरी क्लब अफ काभ्रेपलाञ्चोक लगायतका संघसंस्थाको विशेष समन्वय र ग्लोबल ग्रान्टमार्फत सहयोग जुटाइएको हो।
“यो मेसिन काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लाका बिरामीहरूको लागि जीवनरक्षक हुनेछ,” डा. गायरसले भन्नुभयो, “अस्पतालमै सिटी स्क्यान सुविधा नहुँदा बिरामीहरूलाई काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।”
उक्त मेसिन सञ्चालनमा ल्याउन अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले आफ्नो एक महिनाको पारिश्रमिक अस्पताललाई सहयोग स्वरूप प्रदान गरेका छन्। यसले अस्पतालमा सामूहिक भावना र सेवामुखी प्रतिबद्धताको गहिरो उदाहरण प्रस्तुत गरेको छ।
अस्पताल १५० शय्या क्षमताको हो र यसअघि पनि रोटरीमार्फत डायलासिस सेवा सञ्चालनमा ल्याइसकेको छ। अबदेखि सिटी स्क्यान सेवा पनि नियमित रूपमा उपलब्ध हुनेछ। डा.गायरसले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई पनि सेवा दिने प्रतिबद्धता जनाउनुभएको छ ।
सिटी स्क्यान सेवा शुभारम्भ बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले एक कार्यक्रमबीच गर्नुभएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, चिकित्सक, रोटरी क्लबका प्रतिनिधि र अस्पतालका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
