नेभिगेशन

कुष्ठ रोग उन्मूलन तथा भेदभाव अन्त्यका लागि राष्ट्रिय सम्मेलन सुरु

प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, उच्चस्तरीय प्रतिबद्धता व्यक्त

नेपाल हेल्थ न्युज, काठमाडौं ।   नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कुष्ठ रोगको उन्मूलन तथा कुष्ठ प्रभावित व्यक्तिमाथि हुने भेदभाव अन्त्य गर्न दुई दिने राष्ट्रिय सम्मेलन बिहीवारदेखि काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले कुष्ठ रोग उन्मूलन तथा प्रभावित व्यक्तिहरूमाथि हुने सामाजिक भेदभाव अन्त्य गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘सरकारले पहिले देखि नै विशेष कार्यक्रममार्फत कुष्ठ रोग नियन्त्रणमा जोड दिएको छ’— प्रधानमन्त्री ओलीले भन्नुभयो— ‘तर यो काममा नागरिक तहको सहभागिता पनि अत्यन्त आवश्यक छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्य, कुष्ठ रोगको वर्तमान अवस्था, चुनौती र रणनीतिक योजना प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानुन समाजकी अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल, डब्लुएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्भाजिराओ, गुडविल एम्बासडर योही सासाकावा, शोभाखर कँडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले आ–आफ्नो धारणा राख्दै कुष्ठ रोग विरुद्धको अभियानमा थप बल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिब ३०० जति विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । सम्मेलनमा सासाकावा लेप्रोसी इनिसियटिभ, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठ रोग मिशन नेपाललगायत संस्थाको सहकार्य रहेको छ । 


प्रदेश तथा स्थानीय तहमा ध्यान
सम्मेलनमा प्रदेश तथा स्थानीय तहमा कुष्ठ रोग नियन्त्रणको प्रयासलाई तीव्र बनाउने विषयमा गहन छलफल भइरहेको छ । साथै, कुष्ठ रोगबाट बढी प्रभावित स्थानीय तहमा अपनाइएका असल अभ्यास, भोगिएका चुनौती र मानव अधिकारसँग सम्बन्धित विषयहरूबारे पनि प्रस्तुति र मन्थन भइरहेको आयोजकले जनाएका छन् ।

नेपालमा कुष्ठ रोगको अवस्था
नेपालमा हरेक वर्ष करिब २ हजार ८६७ नयाँ कुष्ठ रोगका बिरामी दर्ता हुने गरेका छन् । हाल देशभर करिब २ लाख कुष्ठ रोग प्रभावित व्यक्ति छन् । यसमध्ये ३० हजारभन्दा बढी अपाङ्गताको अवस्थामा रहेको अनुमान गरिएको छ ।

नेपालले सन् २०३० भित्र कुष्ठ रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर हालसम्म १८ जिल्लाका अझै पनि प्रति १० हजार जनसंख्यामा एक जना भन्दा बढी कुष्ठ रोगी रहेको अवस्थामा छन् । यसमा मधेश प्रदेशका ७ जिल्ला पनि पर्छन् । सबैभन्दा कम बिरामी दर गण्डकी प्रदेशमा रहेको छ ।
नेपाल सरकारले डब्लुएचओको सहयोगमा कुष्ठ रोगका बिरामीलाई निःशुल्क औषधोपचार सेवा प्रदान गर्दै आएको छ ।

कुष्ठ रोगबारे छोटो जानकारी
कुष्ठ रोग छालामा दाग देखिने, संवेदनशून्यता हुने र समयमै उपचार नपाएमा अंगभंग गराउने रोग हो । उपचार सहज र रोगको संक्रमण दर कम भए पनि प्रभावित व्यक्तिहरू सामाजिक बहिष्कार र भेदभावको सिकार बन्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट