नेभिगेशन

बिरालाबाट मानिसमा फैलिन सक्ने बर्ड फ्लूको उच्च जोखिम ; नयाँ अध्ययनको चेतावनी

भाइरस तीव्ररूपमा मानव स्वास्थ्यका लागि गम्भीर चुनौती

नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्ला अनुसन्धानहरूले बर्ड फ्लू  ( एच५ एन१ ) भाइरस तीव्ररूपमा मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बन्न सक्ने देखाएका छन्। अमेरिकास्थित युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका वैज्ञानिकहरूको नयाँ विश्लेषण अनुसार बिरालाहरूमा तीव्ररूपमा फैलिएको यो भाइरस अब मानिससम्म पुग्ने जोखिममा छ।

यो अध्ययन सन् २००४ देखि २०२४ सम्म संकलित डेटा र तथ्यांकमा आधारित छ, जसले १८ वटा देशका १२ प्रजातिका बिरालाहरूमा ६०७ संक्रमित केसहरू दर्ता भएको देखाएको छ। तीमध्ये करिब ५० प्रतिशत बिरालाहरूको मृत्यु भएको पाइएको छ।

अनुसन्धान अनुसार, बर्ड फ्लू संक्रमित चराहरूको मासु वा दूषित दूध जस्ता स्रोतहरूबाट बिरालाहरूमा संक्रमण फैलिएको छ। विशेषगरी पालतु बिरालाहरू उच्च जोखिममा छन्, जसले भाइरसलाई मानवीय समाजमा सार्न सक्ने सम्भावना बढाएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

अध्ययनमा उल्लेख गरिए अनुसार संक्रमित बिरालाहरूमा सामान्यतया मस्तिष्क सुन्निने ( इन्सेफेलाइटिस ) जस्ता लक्षणहरू देखिन्छन्, जुन प्रायः रेबीजको भ्रममा पर्ने गरिन्छ। चिन्ताको कुरा त के भने, यी संक्रमित बिरालाहरूको मृत्यु दर ९० प्रतिशतभन्दा बढी छ।

पछिल्ला केसहरूमध्ये केहीमा बिरालाहरूले संक्रमित गाईको काँचो दूध सेवन गरेपछि बर्ड फ्लूको संक्रमण देखिएको थियो। तर अहिले पनि धेरैजसो केसहरू बिरालाको मृत्यु पछि मात्र पहिचान भइरहेका छन्। यसले भाइरसको प्रसार रोकथाममा चुनौती थपेको छ।

बिशेषज्ञहरूको चेतावनी अनुसार, यदि भाइरस हावाबाट सर्न सक्ने क्षमतासहित विकसित भयो भने, यो मानव महामारीको रुप लिन सक्नेछ। पशु आश्रयहरूमा भाइरस फैलन थालेमा ठूलो संख्यामा मानिसहरू प्रभावित हुनसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अध्ययनकर्ताहरूले सिफारिस गरेका छन् कि सबैभन्दा जोखिममा रहेका बिरालाहरूको जनसंख्यामा निरन्तर निगरानी र भाइरस परीक्षण आवश्यक छ। समयमै सचेतना र निगरानी अपनाइएन भने, यो भाइरस भविष्यमा गम्भीर स्वास्थ्य संकटको रूपमा देखिन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट